काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
राजीनामा दिने तयारीमा रहेका रास्वपाका मन्त्रीहरू प्रधानमन्त्री प्रचण्डसँग छलफलमा बसेका हुन्।
रास्वपाबाट सरकारमा रहेका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।
उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेसहित मन्त्रीहरू प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेको रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
यसअघि बुधबार नेकपा एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिइसकेका छन्।
नेकपा माओवादी केन्द्रसँगको गठबन्धन लत्याउँदै नेकपा एमालेले गत सोमबार मध्यराति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति गरेपछि सरकार परिवर्तन हुन लागेको हो।
एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार अल्पमतमा परिसकेको छ।
पार्टीभित्र आन्तरिक विवाद चर्किएकै बेला सत्ता गठबन्धन परिवर्तन भएपछि रास्वपा पनि सरकारबाट बाहिरिने भएको हो।
