काठमाडौं । बडादसैँको ६ दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा (ओपिडी) बन्द गर्ने भएका छन् । फूलपातीदेखि दशमीको पर्सिपल्ट अर्थात् ३१ असोजदेखि ६ कात्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपिडी सेवा बन्द हुने भएको हो ।
अस्पतालमा इमर्जेन्सी तथा अत्यावश्यकीय उपचार सेवा भने २४सै घण्टा उपलब्ध हुने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनका अनुसार दसैँका वेला स्वास्थ्यकर्मीको बिदा पालो गरेर बस्न र ओपिडी सेवा बन्द भए पनि इमर्जेन्सी सेवा थप व्यवस्थित पार्न अस्पतालहरूलाई निर्देशन दिइएको छ । उनका अनुसार चाडबाडका वेलामा ड्युटीमा खटिएका स्वास्थ्यकर्मी अन्य दिन बिदा बस्न सक्नेछन् ।
‘दसैँका वेला नियमित ओपिडी बन्द हुन्छन्, तर इमर्जेन्सी सेवाचाहिँ प्रभावकारी र व्यवस्थित हुन्छ । अप्ठेरो तथा जाँच गर्नैपर्ने बिरामीले इमर्जेन्सीमै गएर जाँच गर्न सक्नुहुनेछ,’ अधिकारीले भने, ‘तर, नियमित ओपिडीचाहिँ बन्द हुन्छ, दसैँको वेलामा बिरामीको चाप पनि कम हुन्छ, उपचार गर्नैपर्ने बिरामीलाई इमर्जेन्सी सेवा छँदै छ ।’
उनले अन्य समयमा भन्दा ओपिडी सेवा बन्द भएको समयमा इमर्जेन्सी प्रभावकारी बनाउन १६ वटै संघीय अस्पताललाई निर्देशन दिइसकेको बताए । अस्पतालहरूले आफ्नो अस्पतालमा बिरामीको चाप हेरेर बिदासम्बन्धी निर्णयसमेत गर्न सक्नेछन् ।
स्वास्थ्य मन्त्रालयले नजिकिँदै गरेका बडादसैँमा केही दिन बिदा भए पनि नेपाल संवत्, तिहार र छठ पर्वका लामो बिदाका दिनहरूमा अस्पतालहरूका सेवा निरन्तर सञ्चालन गर्न निर्देशनसमेत दिएको छ ।
मन्त्रालयले बिरामीलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति र स्रोतसाधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।
