बुध, भदौ ३१, २०८३
21.1 C
Kathmandu

न्युरोडको फुटपाथ विस्तार अवरोधमा बालेन सचिवालयले भन्यो– काम रोकिँदैन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २२ स्थित न्युरोडका स्थानीयले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् ।

शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नं २२ स्थित न्युरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो। केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडी बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम सुरु भएको हो ।

स्थानीयले फुटपाथ बढाउने कामको विरोध गर्दै अवरोध गरेका हुन्। उनीहरूले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए । काठमाडौँ महानगरपालिकाले भने कानूनको परिपालना गर्दै काम गरिएको भन्दै अवरोध गर्नेहरुले अदालतको आदेशको अवहेलना गरेको बताएको छ।

काठमाडौं महानगरपालिका प्रमुखका स्वकिय सचिव भूपदेव साहले महानगरले पूर्वयोजना अनुसारको काम अगाडी बढाएको बताएका छन् ।

‘पूर्वयोजना कार्यान्वयन गर्न नरोक्नु भनेको भएर आज त्यो कार्यान्वयन गर्न आएका हौँ। यो हतारो होइन। पूर्वयोजना हो। हामीले पहिले कार्यान्वयन गरिरहेका थियौँ । त्यस पछाडी अदालतले रोकिदिनुस् भन्यो। अहिले अदालतले गर्नुस्, नरोक्नुस् भनेपछि हामीले कानूनको पालना गर्दै सबैकुरा अगाडी बढाइरहेका छौँ,’ उनले भने, ‘हिजो रोक भन्दा हामीले रोकेको हो। आज गर भन्दा हामीले गरेको हो। यो हाम्रो नियमित प्रक्रिया हो। त्यही अनुसार हामी अगाडी बढेको हो। हामीले आदेशको पालना गर्ने हो।’

उनले काम नरोकिने र अदालतको आदेश कडाइपूर्वक कार्यान्वयन गर्ने जनाउँदै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी नेपाल सरकारको भएको पनि बताए।
‘कानुनभन्दा माथि कोही छैन। हामीले कानुनको पालना गर्दैगर्दा जो मान्छेहरु यो हुनुहुँदैन भनेर आइरहनुभएको छ। उहाँहरुले अदालतको आदेशको अवहेलना गर्नुभएको छ। उहाँहरुले भोलि कुनैपनि कानुनभन्दा बाहिर गएर कार्य गर्नुभयो भने उहाँहरुले कानूनअनुसार दण्ड, जरिवाना सहनुपर्ने छ,’ शाहले भने, ‘हामी कानुनमा स्ट्रिक छौँ। कानुनभन्दा बाहिर देख्दै देख्दैनौँ। परिपालना गर्ने कुरामा सधैँ यसरी नै अगाडी बढ्छौँ। शान्ति, सुव्यवस्था, सुशासन कायम गर्ने जिम्मा नेपाल सरकारको हो।’

सम्बन्धित समाचार

ताजा न्यूज