काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारमाथिको धरपकड र सञ्चारमाध्यमका कार्यालयमा भएको प्रहरी हस्तक्षेपमा संलग्नलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । शनिबार बसेको पार्टीको आकस्मिक सचिवालय बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएको हस्तक्षेपलाई गम्भीर रूपमा लिँदै दोषीमाथि अविलम्ब छानबिन र कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
समाचारको स्रोत खुलाउन दबाब दिने, पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यमको कार्यालयमा अनधिकृत रूपमा प्रहरी प्रवेश गराउने कार्यलाई रास्वपाले संविधान र कानुनविपरीत ठहर गरेको छ । संविधानले दिएको मौलिक अधिकार, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सचिवालयले पुनः प्रतिबद्धता जनाएको छ ।
‘प्रेस स्वतन्त्रताको सन्दर्भमा रास्वपा कोही कसैसँग सम्झौता गर्दैन । सञ्चारकर्मी एवं पत्रकारमाथि धरपकडका घटना गलत छन् । प्रधानमन्त्री कार्यालयबाट समेत यसमा संलग्नता नरहेको सार्वजनिक भएको सन्दर्भमा यो घटना किन भयो, कसरी भयो र कसले गर्यो भन्नेबारे छानबिन गरी संलग्नलाई कारबाही गर्न सचिवालय बैठकले सरकारलाई स्पष्ट निर्देशन दिएको छ,’ प्रवक्ता जगदीश खरेलले भने ।
उनका अनुसार यस्ता गतिविधिमा संलग्नलाई कारबाही गर्न ढिलासुस्ती नगरी परिणाम देखाउन पार्टीले सरकारलाई निर्देशन दिएको छ । ‘अबका दिनमा प्रेस स्वतन्त्रता हननका घटना नदोहोर्याउन, समाचार लेखेकै आधारमा सञ्चारमाध्यम, प्रकाशक, प्रसारक वा सञ्चारकर्मीमाथि धरपकड नगर्न तथा प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएका छौँ,’ उनले भने । रास्वपाले सामाजिक लोकतन्त्रलाई आत्मसात् गरेको र प्रेस स्वतन्त्रता त्यसको अभिन्न अंग भएको स्पष्ट पारेको छ ।
शुक्रबार नयाँ पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकडको प्रयास भएको थियो भने पत्रकार विश्वमणि सुवेदीसहितका सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गरेर साँझ छाडेको थियो । समाचारको स्रोत खुलाउन दबाब दिने गरी प्रहरीले पत्रकारमाथि गरेको ज्यादतीको सर्वत्र विरोध भएको थियो । रास्वपाले पनि शुक्रबार विज्ञप्तिमार्फत पत्रकारमाथिको ज्यादतीको विरोध गरेको थियो ।
शनिबारको सचिवालय बैठकमा रास्वपा उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, उपसभापति एवं कानुनमन्त्री सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य, प्रवक्ता जगदीश खरेललगायत नेता सहभागी थिए । वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बैठकमा सहभागी भएनन् ।
