सोम, कार्तिक १०, २०८३
24.1 C
Kathmandu

गगन बन्लान् सभापति ? अब के हुन्छ कांग्रेसको विशेष महाधिवेशनमा ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन लम्बिएको छ। आइतबार र सोमबारका लागि तय गरिएको विशेष महाधिवेशन नेतृत्व चयन प्रक्रियामा अघि बढेपछि लम्बिएको हो।

आइतबार उद्घाटन भएको विशेष महाधिवेशनमा सोमबारदेखि बन्द सत्र सुरू भएको थियो। बन्द सत्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

९ वटा समूह बनाएर ती प्रतिवेदनहरूमा सोमबारदेखि नै छलफल सुरू भएको थियो। प्रतिवेदनमाथिको छलफल जारी रहने गरी सोमबार बन्द सत्र सकिएको थियो।

विशेष महाधिवेशन पक्षका नेता मनोजमण आचार्यले मंगलबार बिहान ९ बजेदेखि पुनः बन्द सत्र सुरू हुने बताएका छन्।उनका अनुसार मंगलबारको बन्द सत्रमा ती ९ समूहको टोली नेताले आफ्नो समूहले निकालेको छलफलको निष्कर्ष हलमा टेबुल गर्नेछन्।

त्यसपछि नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ। केन्द्रीय कार्यसमितिको निर्वाचन प्रयोजनका लागि एक जना संयोजक रहने गरी पाँच सदस्यीय निर्वाचन समिति गठन गरिने विशेष महाधिवेशनको कार्यविधिमा उल्लेख छ।

निर्वाचन समितिले निर्वाचन सम्बन्धि कार्यविधि/निर्देशिका तया गरी निर्वाचन सम्पन्न गर्न सक्नेछ। विशेष महाधिवेशनको निर्वाचन कार्यक्रम नियमित महाधिवेशनकै प्रक्रियामा अघि बढ्ने नेता आचार्यले सोमबार बेलुकीको पत्रकार सम्मेलनमा बताएका थिए।

विशेष महाधिवेशन पक्ष नेतृत्व चयन प्रक्रियाको संघारमा पुगेपछि संस्थापन र नेता शेखर कोइराला पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग संवाद गर्ने तयारी गरेको छ।

संस्थापन पक्ष नेतृत्व चयन रोकेर पार्टीको एकता कायम राख्नुपर्ने पक्षमा छ। सभापति शेरबहादुर देउवाले सोमबार साँझ कोइराला तथा आफू पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए।

छलफलमा नेताहरूले महामन्त्रीद्वयलाई छलफलमा बोलाउन सभापतिलाई सुझाव दिएका थिए। मंगलबार दुई पक्षबीच छलफलको तयारी छ।

सम्बन्धित समाचार

ताजा न्यूज