काठमाडौं । नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तामाथि छ महिनाअघि गरेको अनुशासनको कारबाही फुकुवा गरेको छ।
२०७९ को निर्वाचनमा बागी उम्मेदवारी दिएका, प्रस्तावक र समर्थक बसेका नेता-कार्यकर्तामाथि कांग्रेस अनुशासन समितिले गएको असारमा कारबाही गरेको थियो।
केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले ‘पार्टीभित्र बृहत् एकता कायम गर्न र संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दीगो विकाससँगै संविधानको रक्षा गर्नुपर्ने राष्ट्रिय दायित्वलाई हृदयङ्गम गरी’ कारबाही फुकुवा गर्ने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसले आगामी दिनमा पार्टी हित विपरीत हुने गरी अनुशासन उल्लंघनका कुनै पनि कार्य नगर्न/नगराउन सचेत गराउँदै उनीहरू माथिको कारबाही फिर्ता गरेको हो।
२०७९ को चुनावमा बागी उम्मेदवार दिएका, प्रस्तावक र समर्थक बसेका लगायतविरूद्ध कांग्रेसमा २१ सय हाराहारी उजुरी थिए। त्यसमध्ये डेढ दर्जनमाथि मात्रै कारबाही भएको थियो।
सभापति शेरबहादुर देउवानिकट आनन्दप्रसाद ढुंगाना नेतृत्वको अनुशासन समितिले ‘सेलेक्टिभ’ कारबाही गरेको भन्दै संस्थापनइतर समूह असन्तुष्ट थियो।
कांग्रेसले ‘वर्तमान विकसित राजनीतिक अवस्था र आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई सुसंगठित बनाउँदै पार्टीभित्र बृहत् एकत विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरूद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्कासन, निलम्बन र पार्टीको विधान अनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरिएको’ जनाएको छ।
