काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आर्थिक चलखेल भएको आरोप लागेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । काठमाडौंमा आयोजित आफ्नो पक्षको काठमाडौं जिल्ला कार्यसमितिको १५औँ अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयुक्तहरूलाई ज्यानको धम्की दिएपछि अर्को पक्षको पक्षमा निर्णय गर्नुपरेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गरे । निर्वाचन आयोगको निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै उनले पार्टीको आधिकारिकता पैसाको प्रभावमा टुंग्याइएको दाबी गरेका छन् ।
देउवाले भने, ‘पार्टीको आधिकारिकतासम्बन्धी निर्णयमा दबाब र आर्थिक चलखेल भएको भन्ने आरोप सार्वजनिक भएका छन् । यस्ता गम्भीर विषयमा निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्छ ।’
निर्वाचन आयोगमा भएको निर्णय प्रक्रियालाई अस्वाभाविक भन्दै आर्थिक चलखेलमार्फत पार्टीको आधिकारिकता प्रभावित पारिएको उनको भनाइ छ । एक जना व्यक्तिले १८ करोड रुपैयाँ दिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएको उल्लेख गर्दै उनले पैसाको बलमा पार्टी नै किन्ने प्रयास भएको टिप्पणी गरे ।
पैसाको प्रभावमा पार्टीको निर्णय गराउने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै देउवाले पार्टीको राजनीतिक मूल्य, सिद्धान्त र पहिचानलाई पैसासँग साट्न नसकिने बताए। उनले पार्टी सभापति गगनकुमार थापाप्रति लक्षित गर्दै १८ करोडमा पार्टी अरूलाई बेच्नेले काँग्रेस जोगाउन नसक्ने दाबी गरे ।
‘पार्टी पैसाको प्रभावमा होइन, विधि, विधान र कार्यकर्ताको विश्वासमा चल्नुपर्छ,’ उनले भने । देउवाले आफूले राजनीतिक जीवनमा धेरै कुरा प्राप्त गरिसकेको उल्लेख गर्दै उनले अब पार्टी र देशका लागि योगदान गर्ने समय आएको बताए ।
