काठमाडौं । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा समूहले आगामी २१–२३ मंसिरमा १५औँ महाधिवेशन गर्ने गरी तयारी तीव्र पारेको छ । महाधिवेशनअघि देउवा समूहले वडा, पालिका र निर्वाचन क्षेत्र हुँदै जिल्ला अधिवेशन गरिरहेको छ ।
पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको वेला विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूहले गत असोजमै १५ महाधिवेशन खुलामञ्चमा गरिसकेको छ । थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । देउवापक्षले पनि समानान्तर महाधिवेशन खुलामञ्चमै गर्ने तयारी गरेको नेताहरूले बताएका छन् । थापा नेतृत्वको कार्यसमितिको वैधानिकतामाथि देउवापक्षले प्रश्न उठाएको छ ।
देउवापक्षीय नेता दीपक कुइँकेदका अनुसार हालसम्म करिब ६ हजार सात सय वडा, ६५० पालिकामा अधिवेशन सम्पन्न भएको छ । २६४ प्रदेश सभा निर्वाचन क्षेत्र र १३२ संघीय निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ । काठमाडौंसहित ३९ जिल्लामा अधिवेशन भएको छ । ३३ जिल्लामा कार्यसमिति चयन भएको छ । बाँकीमा अधिवेशन जारी छ ।
तल्ला तहका अधिवेशन सम्पन्न गर्न ढिलाइ भएका ठाउँमा जिल्ला अधिवेशन हुन बाँकी रहेको कुइँकेलले बताए । ‘वडा, पालिका र क्षेत्रीय अधिवेशन सम्पन्न भएपछि मात्र जिल्ला अधिवेशन गर्न दिएका छौँ । कहीँ वडा अधिवेशन नभएर, कहीँ पालिका अधिवेशन नभएर र कहीँ क्षेत्रीय अधिवेशन नभएर जिल्ला अधिवेशन हुन सकेको छैन । कतिपय जिल्लाहरूले १ मंसिरसम्मको समय मागेको अवस्थामा छ । त्यसैले १–२ मंसिरसम्म जिल्ला अधिवेशन सम्पन्न गर्छौँ,’ उनले भने ।
कुइँकेलले सबै पालिका र क्षेत्रमा अधिवेशन सम्पन्न गरेर मात्र जिल्ला अधिवेशन गर्न दिइएको बताए । जिल्ला, प्रदेश अधिवेशन हुँदै १५औँ महाधिवेशन सम्पन्न गर्ने उनले दाबी गरे । वर्षाका कारण अधिवेशन प्रभावित भएको उनले बताए । ‘वर्षाका कारण कतिपय ठाउँमा अधिवेशन हुन सकेन । २ मंसिरसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य छ । जिल्ला अधिवेशन सम्पन्न भइसकेपछि मात्रै प्रदेश अधिवेशन हुनेछ,’ उनले भने ।
झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जिमी, भोजपुरमा धर्मराज राई, उदयपुरमा वसन्त बस्नेत, र कास्कीमा ऋषिराम काफ्ले, चितवनमा मिलनबाबु श्रेष्ठ, सिन्धुपाल्चोकमा बालकृष्ण बस्नेत, धनुषामा कोमलकान्त झा, बारामा राजेश राय यादव, प्युठानमा देवेन्द्र बर्मा, कपिलवस्तुमा राजेशबहादुर सिंह, पर्वतमा यमबहादुर मल्ल, म्याग्दीमा हिराबहादुर पुन सभापति बनेका छन् ।
डोल्पामा देउप्रसाद बुढा, हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही, मुगुमा तिलक मल्ल, कालिकोटमा नगेन्द्र विष्ट, डोटीमा बाजीसिंह खड्का, बझाङमा हर्कजंगबहादुर सिंह, बैतडीमा वीरबहादुर विष्ट, रुकुम पश्चिममा नन्दबहादुर विष्ट निर्वाचित भएका छन् । दाङमा गोपालराज शर्मा, रोल्पामा मानबहादुर खत्री, दैलेखमा दिनेशकुमार हमाल, दार्चुलामा सुरेन्द्र अवस्थी, सल्यानमा दीपक चन्द सभापति बनेका छन् ।
