काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छिन्। शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटार बोलाएर छलफल गरेकी हुन्।
निर्वाचन नजिकिँदै गर्दा दलहरूबाट चुनावमा प्रतिबद्धता खोज्नका लागि प्रधानमन्त्री कार्कीले छलफल राखेकी थिइन्।
छलफलको सुरू उनले त्यही बिन्दुबाट गरिन्। ‘यो घर तपाईँहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं,’ उनले भनिन्।
चुनावकै लागि आफूले रक्षाबाहेक आफूसँग राखेका अरू मन्त्रालय पनि अन्य मन्त्रीलाई जिम्मा लगाएको प्रधानमन्त्री कार्कीले बताइन्।
मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौँ। सबै यसमा सहभागी हुनुपर्छ। तपाईँहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ,’ उनले भनिन्।
छलफल क्रममा तीन दलका शीर्ष नेताहरू चुनावप्रति प्रतिबद्ध सुनिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बैठकपछि पत्रकारहरूसँग बताए।
‘चारै जनासँग अनुमति लिएर बाहिर मिडियाका साथीहरूलाई एक वाक्यमा के भनौं भनेर मैले सोधेँ,’ मन्त्री खरेलले भने, ‘चुनाव गर्नेगरी समझदारी भएको छ। सरकारले वातावरण बनाउने र राजनीतिक दलहरू चुनाव लिन्छन् भन्ने सन्देश प्रवाह गर्न चारै जनाले आग्रह गर्नुभएको छ।’
छलफल क्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले फागुन २१ को चुनावबाट दायाँबायाँ गर्न नहुने बताएका थिए।
‘फागुन २१ को चुनावबाट यताउता नगरौं। जसरी हुन्छ चुनाव गरौं,’ उनको भनाइ उद्धृत गर्दै मन्त्री खरेलले भने।
विशेष परिस्थितिमा बनेको सरकारको काम कारबाहीका विषयमा पनि प्रचण्डले प्रशंसा गरेको मन्त्री खरेलले बताए। ‘अगाडि बढ्नुस् तपाईंहरू चुनावमा हामी भाग लिन्छौं। सबै दलहरू भाग लिनुपर्छ भन्नुभयो। उहाँले एमाले र कांग्रेस दुवैलाई चुनावका लागि तयार हुन आग्रह गर्नुभयो,’ मन्त्री खरेलले बताए।
कांग्रेस सभापति देउवाले संसद पुनर्स्थापना कांग्रेसको प्राथमिकतामा नपर्ने बताएका छन्।
