काठमाडौं । नेपाली कांग्रेसका सचेतक सुशिला थिङले मन्त्रिमण्डल गठन गर्दा संविधान कुल्चिएको भन्दै आपत्ती जनाएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै क्याबिनेटमा ३३ प्रतिशत महिला कहिल्यै देख्न नपाएको बताईन् ।
उनले भनिन्, ‘जुनसुकै मन्त्रिमण्डलमा पनि संविधानलाई कुल्चिएर ३३ प्रतिशत महिला क्याबिनेटमा कहिल्यै देख्न नपाउने भो । सायद पुरुषहरू नै प्रमुख भएर होला महिलाहरु मन्त्रीमा सिफारिस भएनन् । म कानूनमा स्नातक गरेको छु, सोसियोलोजीमा स्नातकोत्तर गरेको छु, तर म कहिल्यै योग्य भइनँ । मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिएन होला ।’
उनले महिलाहरु कहिलेसम्म समानुपातिक कोटामा दर्ज हुने हो भन्दै प्रश्न गरिन् । उनले यति भनिसक्दा संसद्मा रास्वपाका अधिकांश सांसदले टेबुल ठोकेर समर्थन गरिरहेका थिए । सँगसँगै महिला सांसदहरूले पनि समर्थन गरेका थिए ।
