सोम, कार्तिक १०, २०८३
15.1 C
Kathmandu

अब बन्ने सरकारमा प्रचण्ड सहभागी नभएपनि माओवादीका सांसदहरु सहभागी हुने एमाले नेता तामाङको दाबी

काठमाडौं। कांग्रेस–एमालेको गठबन्धनमा अब बन्ने सरकार संविधानको धारा ७६ को कुन उपधाराअन्तर्गत गठन हुने भन्नेमा संविधानविद्, कानुनविद् र राजनीतिककर्मीहरुमा मतैक्यता नरहेको पाइएको छ । आज रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका नेता, कानुनविद् र संविधानविद्हरुले अब गठन हुने सरकार संविधानको धारा ७६ को कुन उपधाराअन्तर्गत गठन हुने भन्नेमा फरक–फरक धारणा व्यक्त गरेका छन् ।
नेकपा एमाले का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले हरेक १० वर्षमा संविधानका कतिपय कुरा पूनरावलोकन गर्नुपर्ने स्थिति बन्ने बताए । यस्तो प्रकारको प्रयोग अरू देशहरुमा पनि रहेको उनको भनाइ छ । उनले नेपालमा पनि संविधानको केही इस्युहरुमा प्रश्न उठेको दाबी गर्दै संविधान संशोधनका लागि कांग्रेस र एमालेबीच सहकार्य हुन लागेको स्पष्ट पारे ।
साथै, उनले आफूहरुले एमाले–कांग्रेसमात्रै मिलेर सरकार बनाउने पनि नभनेको बताए । एमाले–कांग्रेसले अन्य दलहरुलाई पनि सरकारमा सहभागी हुन आह्वान गरेको बताए । ‘हामीले एमाले–कांग्रेसको मात्रै सरकार भनेको पनि छैनौं । राष्ट्रिय सरकारको अवधारणा बनाएका छौं । दुईटै दलका निर्णयहरुले आह्वान गरेका छौं,’– उनले भने ।
नेता तामाङले अहिलेसम्म शान्ति प्रक्रियाका काम टुङ्ग्याउन नसकेको अवस्थामा राष्ट्रिय सहमतिको सरकार आवश्यक परेको बताए । निर्वाचन प्रणालीका कारण पनि भ्रष्टाचार बढिरहेकाले त्यसको समाधान खोज्न पनि यो सरकार बनाएर रि–थिङ्क गर्न खोजिएको बताए ।
राष्ट्रिय सभालाई समानुपातिक र प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचितको थलो बनाऔं भन्नेमा एमाले–कांग्रेसबीचमा सहमति रहेको उनले स्वीकार गरे । संघीयताको संरचना दुई तहको मात्रै भएपनि हु्ने उनको धारणा छ । उनले एमाले–कांग्रेसबीच प्रदेश तहमा पनि प्रत्यक्ष निर्वाचितमात्रै र ७५३ स्थानीय तहलाई घटाएर २५० देखि ३०० को हाराहारीमा बनाउने समझदारी बनेको खु्लासा गरे ।
साथै, पालिका तह, उच्च र सर्वोच्च गरेर अदालतको पनि पुनर्संरचना गर्नुपर्ने स्थिति देखापरेको उनले बताए । यसरी प्रदेश र स्थानीय तहको पुनर्संरचना गर्न सकेको खण्डमा आर्थिक भार पनि कम हुने र भ्रष्टाचार पनि नियन्त्रणमा आउने उनको धारणा छ ।
एमाले–कांग्रेसमात्रै नभएर अब बन्ने सरकारमा कोही प्रतिपक्ष नहुन् भन्ने आफूहरुको दृष्टिकोण रहेको उनले सुनाए । प्रधानमन्त्री प्रचण्डले संसद् फेस गर्छु भन्ने सुनेको उल्लेख गर्दै उनले अब प्रधानमन्त्रीको कुर्सीमा बस्नुको औचित्य नरहेको बताए । उनले प्रचण्डमा कुर्सीमोह र लिप्साबाहेक अरु केही पनि नपाएको बताए । राजनीतिले अर्को कोर्ष लिइसकेपछि दुई दिनको लागि कुर्सीमा बस्नुको औचित्य नहुने बताए ।
साथै, उनले प्रचण्ड एमाले–कांग्रेसको गठबन्धनमा बन्ने सरकारमा सहभागी नभए माओवादीकै सांसदहरु सहभागी हुने दाबी गरे । उनले अब प्रचण्ड नेतृत्वको माओवादी विभाजित हुने संकेत गरे । ‘उहाँ सम्मिलित हुनुभएन भने उहाँका अरू सम्मिलित हुनुुहुनेछन् । उहाँकै दलबाट सम्मिलित हुनेछन् । हेर्दै जानुहोला–यो दिन पनि आउनेछ,’– उनले भने ।
प्रचण्ड नेतृत्वको सरकारले ७६ (२) मा धेरै पटक विश्वासको मत लिइसकेकाले अब सोही धारा प्रयोग गर्न कुनै बाधा नरहेको बताए । संविधान निर्माणकर्ता आफूपनि रहेको बताउँदै उनले जुनसुकै धाराअन्तर्गत सरकार गठन गरेपनि ३० दिनभित्र विश्वासको मत शो गरेपछि उक्त धारा खण्डित हुने उनले बताए । अहिले प्रचण्डलाई ७६ (२) को सरकार नमानेर नेपालको सरकार मानिने बताए । उनले अब ७६ (२) बमोजिम सरकार गठन हुनेमा कुनै द्धिविधा नरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज