काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयमा फोहोर फालिदिन्छु भन्नु राम्रो नभएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साहको कार्यशैलीलाई लिएर प्रश्न उठाए ।
महानगरपालिका भित्रको काममा तीनै तहको सरकार संलग्न हुने र एकअर्कोप्रति समन्वय नगर्ने प्रवृति रहेको भन्दै उनले महानगरभित्र एउटै सरकारले काम गर्ने वातावरणका लागि आग्रह गरे ।
‘महानगरपालिकाले कहिले ल्याएर सडक विभागमा फोहोर फालिदिन्छ । कहिले सिंहदरबारभित्र फोहोर फालिदिन्छु भन्ने, कहिले प्रधानमन्त्री कार्यालयमा फोहोर फालिदिन्छु भन्ने । यो राम्रो भएन जस्तो लाग्छ’, सांसद तामाङले भने ।
यहीँनेर उनले दोहोरी गीत सम्झिए । ‘एउटा गीत छ–कोहीकोही मात्तिन्छ पैसाले, कोहीकोही मात्तिन्छ बैंसले दोहोरी गीत गाउँछन् । यो महानगर पालिकामा पैसा पनि बेसी भयो, बैंस पनि भयो । दुइटैले मात्तिएजस्तो छ’, तामाङले भने ।
जिम्मेवारी कम भएकाले यस्तो भएको भन्दै उनले महानगरपालिकालाई जिम्मेवारी थप गर्न आवश्यक रहेको बताए । ‘यस महानगरलाई एउटा काम महानगरभित्रको विकास, खानेपानी आदिको सबै काम गर्ने जम्मा लगाइदिन पायो भने बैंसले पनि मात्तिदैँन, पैसाले पनि मात्तिदैँन’, उनले भने ।
काठमाडौं महानगरले समेत यस किसिमको जिम्मेवारी खोजेकाले दिन सकिने उनको सुझाव छ ।
