काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । शनिबारदेखि सुरु भएको अभियान आगामी २५ मंसिरसम्म चल्नेछ । अभियानमार्फत संगठन विस्तार र सुदृढीकरणसँगै जनताका समस्या बुझ्ने, पार्टीलाई रूपान्तरण गर्ने र समाजवाद निर्माणको आधार तयार पार्ने लक्ष्य लिएको नेकपाले जनाएको छ ।
अभियानका क्रममा केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र टोलसम्म पुगेर किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, अल्पसंख्यक समुदाय, बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा उद्यमी–व्यवसायीसँग प्रत्यक्ष संवाद गर्नेदेखि संगठन विस्तारसम्मको लक्ष्य छ ।
अभियान उद्घाटन कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले विगतका कमजोरी स्विकार्दै नयाँ संकल्पसहित जनतामा जान अभियान सुरु गरिएको बताए । ‘हिजोका कमजोरी के रहे, उपलब्धि के रहे ? त्यसको समीक्षा हुनुपर्यो । त्यो समीक्षा अब नेताहरूले मात्रै गरेर पुग्दैन, जनताको तहमा गएर जनताको आलोचना जनताकै मुखबाट गाउँ–गाउँ, टोल–टोलमा पुगेर सुन्नुपर्यो । त्यसलाई आत्मसात् गर्नुपर्यो । देशको अगाडि देखापरेका तमाम अप्ठ्याराहरूलाई पार गर्न नयाँ संकल्पसहित अगाडि बढ्न पर्यो भनेर अभियानको सुरुवात गरेका हौँ,’ प्रचण्डले भने ।
अभियानले संगठन विस्तार र सुदृढीकरणका साथै राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकासम्बन्धी समस्या समाधान, पार्टीको रूपान्तरण तथा समाजवाद निर्माणको आधार तयार पार्ने प्रचण्डले बताए । ‘अभियानमार्फत पार्टीका केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र तपाईंहरूकै टोलसम्म आउँदै छौँ ।
किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसंख्यक समुदाय, फरक क्षमता भएका नागरिक, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवी, शिक्षक, कर्मचारी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गर्नेछौँ । जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्नेछौँ । महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी र श्रमिकका समस्या तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य र अनुभव संकलन गर्नेछौँ,’ उनले भने ।
अभियान मूलतः तीन पक्षलाई समेटेर जनताको बिचमा जाने प्रवक्ता प्रकाश ज्वालाले बताए । ‘पहिलो, राष्ट्रिय स्वाधीनता, संविधान तथा लोकतन्त्रको रक्षा र सुशासन तथा जनजीविकाका मुद्दाहरू । दोस्रो, पार्टीको राष्ट्रिय महाधिवेशनको प्रक्रियाको प्रारम्भ र तयारी । तेस्रो, आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारी तथा आधार निर्माण,’ उनले भने, ‘जनताको माझमा आफ्ना सकारात्मक पक्षहरूलाई निरन्तरता दिने र गल्ती–कमजोरीहरूप्रति आत्मालोचित हुँदै सच्याउने प्रतिबद्धतासहित जनतामा जाँदै छौँ ।’
नेकपाले देश जटिल राजनीतिक, आर्थिक तथा सामाजिक संकटबाट गुजिरहेको निष्कर्ष निकालेको छ । ‘ठुलो आशा र अपेक्षाका साथ गठन भएको दुईतिहाइको सरकारबाट जनताले अपेक्षा गरेअनुरूप परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढिरहेको छ । महँगीले जनजीवन कष्टकर बनेको छ, बेरोजगारी र युवा पलायन बढिरहेको छ । किसान, मजदुर, सबै उद्यमी र व्यवसायीले अनेकौँ कठिनाइ भोगिरहेका छन् ।
जनजीविकाका आधारभूत प्रश्नहरू झन् जटिल बन्दै गएका छन्,’ नेकपाको निष्कर्ष छ, ‘अर्कोतिर, हाम्रो राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग सम्बन्धित चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीरतापूर्वक सचेत हुनुपर्ने अवस्था छ ।
अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा गठन भएको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखाउने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने, लोकतान्त्रिक संस्था, ट्रेड युनियन, विद्यार्थी संगठन, कर्मचारीतन्त्र, निजी क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप तथा भय र त्रासको वातावरण सिर्जना हुने प्रवृत्ति देखाइरहेको छ । नयाँ र पुरानाको कृत्रिम विभाजनबाट सामाजिक घृणा बढाउने र नागरिकका राजनीतिक अधिकार संकुचित गर्ने प्रवृत्तिले लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि प्रश्न उठाएको छ ।’
शान्ति प्रक्रिया, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा राष्ट्रिय एकता र लोकतान्त्रिक निकासका लागि पार्टीले निर्वाह गरेका भूमिकाको समीक्षा गर्दै विगतका उपलब्धिप्रति गर्व र विगतका कामको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउने लक्ष्य नेकपाको छ ।
सरकारमा रहँदा सुशासन, सामाजिक न्याय, समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाइएका कामलाई निरन्तरता दिँदै जनताप्रति थप उत्तरदायी बन्न आवश्यक रहेकोमा नेकपाले जोड दिएको छ । ‘यसअघि विभिन्न जनअभियानमार्फत विभिन्न भूगोल, समुदाय र जनतासँग प्रत्यक्ष संवाद गर्ने प्रयास गरेका थियौँ । ती अनुभवबाट सिक्दै अहिलेको बदलिँदो परिस्थितिमा जनतासँगको सम्बन्धलाई अझ व्यापक, व्यवस्थित र परिणाममुखी बनाउनु आवश्यक भएको छ ।
कम्युनिस्ट पार्टीको आधार किसान, मजदुर, श्रमजीवी, गरिब तथा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको र जनमुखीभन्दा नेतामुखी तथा गाउँमुखीभन्दा केन्द्रमुखी प्रवृत्ति बढेको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्छ । जनताको जीवन र अपेक्षासँग नजोडिएको राजनीति दिगो हुन सक्दैन भन्ने कुरा आत्मसात् गर्नु जरुरी छ,’ नेकपाले भनेको छ ।
