मङ्ल, अशोज ६, २०८३
20.1 C
Kathmandu

बिहीबारदेखि सोमबारसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न सुझाव

काठमाडौं । नेपालमा आगामी बिहीबारदेखि पाँच दिनसम्म वर्षाको गतिविधि बढ्ने सम्भावना देखिएको छ । मौसम पूर्वानुमानका विभिन्न मोडलहरूले यही असोज ७ गते बिहीबारदेखि असोज १२ गते सोमबारसम्म नेपालका धेरै क्षेत्रमा वर्षा हुने र विशेष गरी शुक्रबार र शनिबार भारी वर्षाको सम्भावना देखाएका छन् ।

युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्ट (इसिएमडब्लुएफ), अमेरिकी ग्लोबल फोरकास्ट सिस्टम (जिएफसी) र जर्मन मौसम सेवाको आइकनसहितका विभिन्न मौसम पूर्वानुमान मोडलको प्रक्षेपणमा आगामी साता बंगालको खाडीबाट विकसित हुने मौसमी प्रणालीको प्रभाव नेपालसम्म आइपुग्ने देखिएको मौसमविद्हरूले बताएका छन् । तर, कुन क्षेत्रमा कति वर्षा हुन्छ भन्ने विषयमा भने मोडलहरूबिच अझै समानता छैन ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक डा. विनोद पोखरेलले विभिन्न पूर्वानुमान मोडलको अध्ययन गर्दा बिहीबारदेखि सोमबारसम्म नेपालमा वर्षाको सम्भावना बलियो देखिएको बताए ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले न्यूनचापीय प्रणालीको असर कुनै न कुनै रूपमा नेपालमा पर्न सक्ने देखिएको बताए ।

भारतको मौसम विज्ञान विभागका अनुसार उत्तर अन्डमान सागर र पूर्व–मध्य बंगालको खाडी आसपास विकसित न्यूनचापीय क्षेत्र पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढिरहेको छ । यो प्रणाली सोमबार न्यूनचापीय (डिप्रेसन) र मंगलबार अझ बलियो भएर डिप डिप्रेसन (न्यूनचापीय प्रणाली) बन्न सक्ने तथा त्यसपछि दक्षिण ओडिसा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्रतर्फ पुग्ने अनुमान छ ।

यही प्रणालीबाट आउने जलवाष्प र नेपालमा रहेको पश्चिमी वायुमण्डलीय प्रणालीबिच समिश्रण भएमा नेपालमा वर्षा बढ्न सक्ने मौसमविद्हरूको आकलन छ ।

बाढीपहिरोको जोखिम
असोजको यो समय मनसुन कमजोर हुँदै जाने चरण हो । तर, जमिन अझै भिजेको अवस्थामा रहेकाले छोटो समयमा ठुलो पानी परेमा नदी तथा खोलामा बहाब बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्छ । विशेष गरी प्रणाली सुस्त गतिमा अघि बढेर एउटै क्षेत्रमा पटक–पटक भएमा कुल वर्षाको मात्रा बढ्न सक्छ । काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा भने छोटो समयमा ठुलो वर्षा हुँदा सडक तथा तल्लो भूभागमा डुबानको समस्या देखिन सक्छ ।

सम्बन्धित समाचार

ताजा न्यूज