काठमाडौं । नेपालमा सवारीसाधनको बजार विस्तार भइरहेका बेला काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो चलिरहेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १८औँ संस्करणको अटो शोको उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गरे ।

अटो शोमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको सहभागिता छ । अटो शोको मुख्य आकर्षणमध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ पनि रहेको छ । प्रदर्शनीस्थलमा ‘मेड इन नेपाल र मेड फर नेपाल’ पेभेलियन राखिएको छ ।
गाडी विक्रीका लागि अटो शोमा ‘ग्लामर’को सहारा लिएको देखिन्छ । मोडलको ‘ग्लामर’सँगै सवारी साधनमा आकर्षित गर्ने सोच अटो शोमा देखिएको छ ।
नाडा अटो शो—जहाँ नयाँ प्रविधि, विद्युतीय सवारी, अत्याधुनिक डिजाइन र प्रतिस्पर्धी मूल्यबारे चर्चा हुनुपर्ने हो । तर, अटो शोका केही स्टलमा भने सवारी साधनभन्दा फरक दृश्यले दर्शकको ध्यान तानिरहेको छ ।

गाडीको विशेषता बताउने उद्देश्यले राखिएका स्टलमा आकर्षक पहिरनमा प्रस्तुत गरिएका मोडलहरू छन् । उनीहरूको प्रस्तुतिले सवारी साधनभन्दा बढी अवलोकनकर्ताहरूको ध्यान तान्ने गरेको देखिन्छ । जसले प्रश्न उठेको छ– अटो शोमा महिलाको शरीर प्रदर्शन किन ?
सवारी साधनको ब्रान्ड निर्माण गर्न प्रविधि, गुणस्तर, सुरक्षा, मूल्य र ग्राहक अनुभव महत्वपूर्ण मानिन्छ । तर, उपभोक्ताको ध्यान खिच्ने नाममा महिलाको शरीर र आकर्षणलाई बिक्री रणनीतिको हिस्सा बनाउनु कति उचित हो ?
अटोमोबाइल बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा कम्पनीहरू आफ्ना उत्पादनलाई फरक ढंगले प्रस्तुत गर्न खोजिरहेका छन् । तर, ‘फरक देखिने’ होडमा महिला शरीरलाई विज्ञापनको माध्यम बनाउने प्रवृत्तिले व्यवसायिक मार्केटिङको सीमा कहाँसम्म हुनुपर्छ भन्ने बहस जन्माएको छ ।
नाडा अटो शो नेपाली अटोमोबाइल बजारको प्रवृत्ति देखाउने ठूलो मञ्च पनि हो । यहाँ प्रस्तुत गरिने विज्ञापन र मार्केटिङ शैलीले समाजमा कस्तो सन्देश दिइरहेको छ भन्ने बहस आवश्यक छ । गाडीको मूल्य, माइलेज, सुरक्षा र प्रविधिबाट ग्राहक आकर्षित गर्ने कि ग्ल्यामर र शरीर प्रदर्शनबाट ? यसको जवाफ नाडा अटो शो आयोजकले दिनुपर्छ ।
