बुध, अशोज ७, २०८३
20.1 C
Kathmandu

रवि लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।

सूर्यदर्शन सहकारीका पीडितहरूको तर्फबाट आन्दोलनदेखि अदालतसम्म सक्रिय भूमिका खेलेका जैसी पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख योजनाकारका रूपमा पक्राउ परेका हुन् ।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनअनुसार धनुष सहकारीको १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको देखिएपछि थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरिएको रजिस्ट्रार कार्यालयले जनाएको छ ।

प्रहरीले जैसीलाई पक्राउ गरिसकेको छ भने अन्य चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाएको छ । यसअघि २०८१ साल पुसमा गरिएको प्रारम्भिक छानबिनमा १९ करोड १८ लाख रुपैयाँ हिनामिनाको प्रतिवेदन रजिस्ट्रार कार्यालयमा पेश गरिएको थियो ।

रजिस्ट्रार कार्यालयले पटक–पटक निर्देशन दिए पनि ६ करोड रुपैयाँ मात्र असुल भएको र बाँकी १२ करोड ५६ लाख रुपैयाँ शोधभर्ना नभएपछि अनुसन्धानका लागि प्रहरीमा सिफारिस गरिएको हो ।

साविक ‘साइनो’ र ‘धनुष’ सहकारी मर्ज भई धनुष बचत तथा ऋण सहकारी संस्था बनेको थियो । पोखरा–९ र अन्नपूर्ण गाउँपालिका–९ नौडाँडामा रहेका यी सहकारीहरू मर्ज भएपछि नयाँ व्यवस्थापन समिति गठन गरिएको थियो ।

सम्बन्धित समाचार

ताजा न्यूज