बुध, अशोज ७, २०८३
20.1 C
Kathmandu

मन्त्रीहरूको सूची बनाउँदै रवि र बालेन, प्रधानमन्त्रीसँगै १३ गते नै सपथको तयारी

काठमाडौं । रास्वपाले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी गरेको छ ।

त्यसका लागि रास्वपा सभापति रवि लामिछाने र शाहबीच मन्त्री बन्ने नेताहरूको सूची तयार पार्न निरन्तर छलफल चलिरहेको छ । दुवै नेताले छलफलमा आवश्यकताअनुसार अन्य शीर्ष नेता र सम्भावित मन्त्रीलाई बोलाएर कुराकानीसमेत गरिरहेका छन् ।

एक शीर्ष नेताका अनुसार प्रधानमन्त्री शाहसँगै शपथ लिने मन्त्रीको सूचीमा अर्थमन्त्रीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्रीमा शिशिर खनाल निश्चित जस्तै छन् । सुनील लम्सालले समेत मन्त्रीको शपथ लिने पक्का भए पनि कुन मन्त्रालय भन्ने टुंगो लागिसकेको छैन । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिनेबारे छलफल भइरहेको ती नेताको भनाइ छ । तर भावी प्रधानमन्त्री शाहनिकट भएकाले लम्साललाई गृह मन्त्रालय दिन सकिने विकल्पबारे पनि कुरा उठेको छ ।

शाह पक्षका एक नेताका अनुसार मन्त्रिपरिषद्मा कम्तीमा तीन महिला मन्त्री हुनेछन् । महिलाबाट सोबिता गौतम र इन्दिरा रानालाई मन्त्री बनाउनेबारे छलफल चलिरहेको छ । सोबितालाई सभामुखको जिम्मेवारी दिने विकल्पबारे पनि परामर्श भइरहेको छ ।

मन्त्रालयको संख्या १५ देखि १८ राख्ने र बढीमा १५ जनालाई मन्त्री बनाउने तयारी भइरहेको रास्वपा नेताहरू बताउँछन् । आवश्यकता र क्षमता हेरेर एक जनालाई दुईवटासम्म मन्त्रालयको जिम्मेवारी दिने विषयमा समेत नेताहरूबीच परामर्श भइरहेको छ । उपप्रधानमन्त्री राख्ने कि नराख्ने भन्ने विषयमा छलफल भएको तर निर्णय भइनसकेको छलफलमा सहभागी अर्का एक नेताले बताए ।

सम्बन्धित समाचार

ताजा न्यूज