बिहि, कार्तिक १३, २०८३
17.1 C
Kathmandu

अन्तरजिल्ला र विदेशका नेपालीलाई मताधिकारको विषय बहसमै सीमित

काठमाडौं । जेन–जी आन्दोलनपछि जोडतोडले एउटा विषय उठेको थियो– विदेशमा रहेका मतदातालाई पनि मतदानको अधिकार दिलाउने र देशभित्रै फरक जिल्लामा रहेकालाई पनि सोही ठाउँबाट समानुपातिकतर्फ भोट हाल्ने व्यवस्था मिलाउने । त्यसो त यो विगतका निर्वाचनदेखि नै उठेका सवाल हुन् । तर, यसपालि पनि अन्तरजिल्ला र विदेशमा रहेकाहरू मतदानबाट वञ्चित हुँदै छन् ।

वैदेशिक रोजगार, अध्ययन तथा अन्य प्रयोजनका लागि करिब ४० लाख नेपाली विदेशमा छन् । मताधिकारका लागि उनीहरूले विगतदेखि नै आवाज उठाउँदै आएका छन् भने राजनीतिक दलले आश्वासन दिँदै आएका छन् ।

जेन–जी आन्दोलनपछि बनेको सरकारले यो अधिकारमाथि थप वकालत गर्‍यो । तर, कानुन संशोधनदेखि अन्य प्राविधिक जटिलता रहेकाले यसपालि सम्भव नभएको निर्वाचन आयोगले जनाएको छ ।

२१ फागुनको निर्वाचनमा चुनावी प्रयोजनका लागि खटिने सुरक्षाकर्मी र कर्मचारीले खटिएकै स्थानबाट मतदान गर्न पाउनेछन् । तर, उनीहरूलाई समानुपातिक प्रणालीतर्फ मात्रै यस्तो मताधिकार दिइएको छ । सुरक्षाकर्मी र कर्मचारी गरी निर्वाचनमा पाँच लाख ५१ हजार ८९० कर्मचारी खटिँदै छन् । निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनका लागि मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरिएका छन् ।

जसमा २३ हजार ११२ निर्वाचन केन्द्र छन् । ती केन्द्रको व्यवस्थापन गर्न निजामतीतर्फका कर्मचारी मात्रै दुई लाख १३ हजार खटिँदै छन् । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना गरी तीन लाख ३८ हजार ८९० जना खटिँदै छन् । उनीहरूले खटिएकै निर्वाचनस्थलमा समानुपातिकतर्फ मात्रै मतदान गर्न सक्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा न्यूज