काठमाडौं । एमालेको आठौं महाधिवेशनले पार्टीमा नयाँ व्यक्तिहरूलाई नेतृत्वमा आउने अवसरको ढोका खुल्न सहज हुने ठानेर ७० वर्षको उमेर हद र नेतृत्वमा दुई कार्यकालको व्यवस्था गर्ने निर्णय गर्यो । नवौं महाधिवेशनमा यही निर्णयका कारण भरतमोहन अधिकारी, सिद्धिलाल सिंह लगायत नेताहरू सक्रिय राजनीतिबाट अवकाश लिए ।
एमाले अध्यक्ष केपी ओलीले नवौँ महाधिवेशनबाट सर्वसम्मत पारित ७० वर्षे उमेरहद र दुईवर्षे कार्यकालको व्यवस्था तोड्दा उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा पार्टी केन्द्रीय अनुसन्धान आयोगका अध्यक्ष केशव बडालले भने आफूलाई नैतिक धरातलमा उभ्याएका छन् । ओलीले विधानबाटै ७० वर्षे उमेरहद हटाएर तेस्रोपटक अध्यक्ष बन्ने तयारी गर्दा ज्ञवाली, शाक्य र बडालले ७० वर्ष पुगेको भन्दै चालू ११औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार नहुने घोषणा गर्दै नैतिकता देखाएका हुन् ।
१०औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक आइतबार बसेको थियो । उक्त बैठकमा ज्ञवाली, शाक्य र बडालले उम्मेदवार नबन्ने घोषणा गरे । तीनैजनाले ७० वर्षे उमेरहद कार्यान्वयन हुनुपर्ने वकालत गर्दै आएका छन् । ज्ञवाली, शाक्य र बडाल भूमिगतकालको कठिन समयमा ज्यानको बाजी थापेर पार्टीको संगठन निर्माण गर्ने नेतामा पर्छन् ।
