काठमाडौं । एमालेले २०–२२ भदौमा भएको विधान महाधिवेशनले पारित गरेको विधानलाई नै उल्ट्याएर पदाधिकारी संख्या बढाएको छ । केन्द्रीय कमिटीले शुक्रबार ‘विधान महाधिवेशनको सर्वोच्चतालाई मनन गरेको’ भन्दै विधानलाई अघि बढाउने निर्णय गरे पनि संस्थापन पक्षका नेताहरू व्यवस्थापन गर्न त्यसलाई संशोधन गरी पदाधिकारी विस्तार गरिएको हो । बहुमतले गरेको यो निर्णयमाथि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले भने आपत्ति जनाएको छ ।
महाधिवेशनको दोस्रो दिन सिधै बन्दसत्रमा प्रवेश गर्ने कार्यसूची भए पनि अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गर्ने उद्देश्यले केन्द्रीय कमिटी बैठक बोलाएका थिए ।
बैठकमा ओलीको निर्देशनमा नेता खिमलाल भट्टराईले विधान संशोधनसम्बन्धी प्रस्ताव अघि बढाए । वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले विधान संशोधन गर्न नहुने धारणा राखे । त्यसको बेवास्ता गर्दै केन्द्रीय कमिटीको बहुमतले विधान संशोधन गर्ने निर्णय गर्यो । केन्द्रीय कमिटीको यो निर्णयलाई महाधिवेशनको बन्दसत्रले पारित गरेको छ ।
संशोधित विधानअनुसार केन्द्रीय कमिटीको आकार २५१ बाट बढाएर ३०१ पुर्याइएको छ । केन्द्रीय सचिवालयको संख्या १५ बाट बढाएर १९ पुर्याइएको छ । उपाध्यक्ष र सचिवको संख्या २/२ वटा बढाइएको हो । अब एमालेको केन्द्रीय संरचनामा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३ सय १ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । विधान महाधिवेशनअघिको वरिष्ठ उपाध्यक्ष पद भने रहने छैन ।
