एजेन्सी । रूसमा पाँच सय वर्षपछि पहिलोपटक क्रशेनिनिकोभ ज्वालामुखी विष्फोट भएको छ । ८.८ म्याग्निच्युडको भूकम्प गएको स्थान कामचाट्का द्वीपमै ज्वालामुखी देखिएको अधिकारीहरूले बताएका छन् ।
बीबीसीका अनुसार २ अगष्टमा विष्फोट भएको ज्वालामुखीका कारण ६ हजार मिटर उचाइसम्म मुस्लो फैलिएको थियो । जसका कारण उक्त क्षेत्रको हवाई मार्ग बन्द गर्नुपरेको थियो ।
उक्त ज्वालामुखीबाट बस्ती भएको क्षेत्रमा कुनै खतरा नभएको रुसी अधिकारीहरुले बताएका छन् । कामचाट्काको आपत्कालीन मामिला मन्त्रालयले क्रशेनिनिकोभ ज्वालामुखी पाँच सय वर्षपछि विष्फोट भएको औपचारिक जानकारी दिएको छ ।
क्रशेनिनिकोभ ज्वालामुखी यसअघि १५औं शताब्दीमा विष्फोट भएको बीबीसीले जनाएको छ । केही दिनअघि रूसको कामचाट्का द्वीपमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पसँग ज्वालामुखी सम्बन्धित हुन सक्ने अधिकारीहरूले आकलन गरेका छन् ।
विश्वको छैटौं शक्तिशाली भनिएको ८.८ म्याग्निच्युडको भूकम्पपछि ठूलासाना परकम्पहरू गइरहेका छन् । आइतबार मात्रै कुरिल द्वीपमा ७ म्याग्निच्युडको धक्का महसुस भएको थियो ।
