काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नबन्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल महिला संघले मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिवद्धता जनाएका हुन्। सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून संशोधन गर्न लागेको उनले स्पष्ट पारे। यसमा पुरुष वा महिला जो कोही दोषी पाइए उसलाई कारबाही गरिने गरी कानून निर्माण गर्न लागेको उनले बताए।
उनले आफ्ना पनि घरमा छोरीहरू रहेको भन्दै महिलालाई गाह्रो हुनेगरी कानून नबनाउने जिकिर गरे ।
शब्दबाट गलत अर्थ लाग्ने भए संशोधन गर्न सरकार तयार रहेको पनि उनले स्पष्ट पारे । गलत सम्बन्धबाट जन्मिएका सन्तानको हकमा केही कानून बनाउन आवश्यक छ कि भन्ने प्रश्न पनि उनले गरे ।
कानुनको मस्यौदा मन्त्रिपरिषद्को समितिमा छलफलका क्रममा रहेको र तयार भइनसकेकाले सरकारको धारणा हो भनेर प्रचार नगर्न पनि उनले आग्रह गरे ।
