सोम, कार्तिक १०, २०८३
13.1 C
Kathmandu

प्रचण्ड भन्छन– अन्तरिम सरकारलाई असफल बनाउने षड्यन्त्र सुरु भइसक्यो

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरिम सरकारलाई असफल बनाउने प्रयास सुरु भएको बताएका छन् । देश र जनताविरुद्धका षड्यन्त्र अझै जारी रहेकाले चुनाव हुन नदिएर मुलुकलाई थप अस्थिरतातर्फ लैजाने योजनाबद्ध प्रयास हुने भन्दै उनले सतर्क रहनुपर्ने औँल्याएका छन् ।

‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको छ । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनाबद्ध प्रयास हुन सक्छ । हामी घोषित निर्वाचन समयमै सम्पन्न होस् भन्ने चाहन्छौँ,’ बिहीबार भिडियो सन्देश जारी गर्दै प्रचण्डले भनेका छन् । जेन–जी आन्दोलनको बलमा कांग्रेस–एमाले गठबन्धन सरकार ढलेर बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ ।

अहिले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबिच दह्रो एकता खोजेको प्रचण्डको भनाइ छ । ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो । इतिहासको चिहानमा मिल्काइएकाहरूले युवापुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउन चाहेका छन् । त्यसैले अहिले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबिच दह्रो एकता खोजेको छ,’ उनले भनेका छन् । संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको कर्तव्य भएको प्रचण्डको भनाइ छ ।

जेन–जी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्बोधन गर्न नसक्दा मुलुक अहिले तरल अवस्थामा पुगेको प्रचण्डको भनाइ छ । कांग्रेस र एमालेको नेतृत्वलाई जनताको आक्रोशसँग नखेल्न आफूले पटक–पटक खबरदारी गरे पनि बेवास्ता गरिएको उनको आरोप छ ।

‘प्रधानमन्त्रीका रूपमा या प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा मैले कांग्रेस–एमालेको नेतृत्वलाई जनताको आवेश र आक्रोशसँग नखेल्न निरन्तर खबरदारी गरिरहेँ । संसद्बाट मात्रै होइन, सडकबाट पनि पटक–पटक लाखौँ जनतालाई साक्षी राखेर भनिराख्यौँ,’ प्रचण्डले भिडियो सन्देशमा भनेका छन्, ‘श्रीलंका र बंगलादेशको संकट संसद्मा संख्याको संकट थिएन । त्यसैले दुईतिहाइको घमण्डबाट बाहिर निस्कन मैले सुझाव दिइरहेँ । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको पनि हामीले विरोध गरिरह्यौँ । प्रतिपक्षका रूपमा संसद्मा हाम्रो जत्रो आकार थियो, त्योभन्दा धेरै ठुलो प्रतिरोध हामीले गर्‍यौँ ।’

जेन–जी आन्दोलनलाई माओवादीले सुरुमै समर्थन गरेको प्रचण्डले बताए । आफूहरूले संविधान निर्माणका क्रममा राखेका फरक मत अहिले जेन–जी आन्दोलनका एजेन्डासँग मिल्ने उनको भनाइ थियो । ‘राजनीतिक दलका रूपमा जेन–जी आन्दोलनको मागमा पहिलो समर्थन हामीले नै गर्‍यौँ । आन्दोलनमा चरम दमन भएपछि २३ गते साँझ नै हामीले प्रधानमन्त्रीको राजीनामा माग्यौँ,’ उनले भनेका छन्, ‘संसद् विघटनको विधि र प्रक्रियामा असहमत हुँदाहुँदै पनि अन्तरिम सरकारको नेतृत्व चयनमा प्रचण्ड र माओवादीले कस्तो भूमिका खेल्यो त्यो सबैमा स्पष्ट छ । म यति भन्छु– जेन–जी आन्दोलन माओवादी जनक्रान्तिले सम्झौताको टेबुलबाट पूरा गर्न नसकेको एजेन्डाहरूकै अभिव्यक्तिहरू हुन् ।’

संविधान निर्माणका क्रममा संविधानसभामा अंक नपुगेपछि आफूहरूले लिखित फरक मत दर्ज गरेको प्रचण्डले स्मरण गरेका छन् । ‘१० वर्षअघि हामीले दर्ज गरेका फरक मत र अहिले जेन–जी आन्दोलनले राखेका मागमा समानता छ । त्यतिखेर संविधानसभामा हाम्रो संख्या पुगेन । तर, हामीले हाम्रा असहमतिहरू लिखित फरक मतका रूपमा इतिहासको अदालतमा दर्ज गरेका थियौँ,’ उनले भनेका छन्, ‘अहिले जेन–जीले मागेको प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो त्यतिवेलैको सबैभन्दा मुख्य फरक मत थियो । पैसाको खोलो बग्ने र भुइँमान्छेले लड्नै नसक्ने अहिलेको निर्वाचन प्रणाली हामीले भत्काउन चाहेका थियौँ । हामी पूर्ण समानुपातिक निर्वाचन प्रणालीका पक्षमा थियौँ ।’

सम्बन्धित समाचार

ताजा न्यूज