आइत, कार्तिक ९, २०८३
21.1 C
Kathmandu

भाडाको इन्जिन प्रयोग गर्दा नेपाल वायुसेवा निगमलाई करोडौँ घाटा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको न्यारोबडी एयरबस ए–३२० जहाजमा जडान हुने एपियू (अक्जिलरी पावर युनिट) इन्जिन मर्मतका नाममा झन्डै आठ महिनासम्म थन्क्याएर भाडाको इन्जिन प्रयोग गर्दा निगमलाई करोडौँ घाटा भएको छ । एकातिर आफ्नो इन्जिन मर्मतका नाममा खर्च गरिरहनुपर्ने र अर्कातिर भाडाको इन्जिनका लागि पनि खर्च व्यहोर्नुपर्ने दोहोरो आर्थिक भारले निगमलाई करोडौँ घाटा भएको हो ।

सामान्यतः ४५ देखि ६० दिनभित्र एपियू मर्मत गरिसक्नुपर्ने तथा भाडामा इन्जिन लिने हकमा त्यसको परल मूल्यको ६० प्रतिशतभन्दा बढी मूल्य पर्ने गरी भाडामा लिन नपाइने व्यवस्था छ । यी व्यवस्था उल्लंघन गर्दै निगमलाई करोडौँ घाटा गराउने गरी अनियमितता भएको स्रोतले बतायो ।

उपलब्ध विवरणअनुसार मर्मत र लिजमा गरिएको खर्च जोड्दा आउने रकम झन्डै नयाँ एपियू किन्न पुग्नेबराबर भएको देखिन्छ । ए–३२० जहाजमा प्रयोग हुने एपियू मोडेल ‘एपिएस ३२००’ (पी/एन : ४५००००१बी) हो । यसको निर्माण कम्पनी प्य्राट एन्ड ह्वाइट्नी हो । सन् २०२६ मा नयाँ एपियूको मूल्य करिब सात लाख ५० हजारदेखि नौ लाख अमेरिकी डलरसम्म छ । निगमका दुई फरक एपियूसम्बन्धी खर्च विवरणअनुसार एपिएस ३२००, सिरियल नं. पिडब्लुसी जेडई ४२६३ नामक एपियूको मर्मतमा करिब पाँच लाख ८५ हजार अमेरिकी डलर खर्च भएको छ । एपिए ३२००, सिरियल नं. पिडब्लुसी जेडई ४११० को लिज खर्च हेर्दा दैनिक ७५० अमेरिकी डलरका दरले २२३ दिनसम्म लिजमा प्रयोग गर्दा कम्तीमा एक लाख ६७ हजार २५० अमेरिकी डलर खर्च भएको छ । यी दुई खर्च मात्रै जोड्दा करिब सात लाख ५२ हजार अमेरिकी डलर पुग्छ । यो नयाँ एपियूको न्यूनतम मूल्यकै हाराहारी हो ।

यसबाहेक ‘सगरमाथा’ जहाजमा जडित अर्को एपियू (सिरियल नं. ३८०५) को मर्मत अझै सम्पन्न नभएको उल्लेख छ । जसले थप आर्थिक भार बढ्ने देखिन्छ । विमान प्राविधिक क्षेत्रका जानकारका अनुसार समयमै मर्मत नगरी लामो समयसम्म लिजमा निर्भर हुँदा लागत अनावश्यक रूपमा बढ्ने गर्छ । एउटा एपियू समयमै मर्मत नगर्दा लिज र मर्मत दुवैमा ठुलो रकम खर्च भई अन्ततः नयाँ उपकरण किन्न सकिने बराबर खर्च भएको देखिन्छ । अर्को एपियूको मर्मत खर्च अझै थपिने क्रममा छ ।

सम्बन्धित समाचार

ताजा न्यूज