काठमाडौं । सर्वोच्च अदालतले भावनात्मक, सहयोगात्मक र सम्पर्कको आधारमा मात्रै पति–पत्नीको सम्बन्ध कायम गर्न नमिल्ने व्याख्या गरेको छ । चेतना लोकसम पुनरावेदक प्रतिवादी र शान्ति चौधरी प्रत्यर्थी वादी रहेको अंश चलनको एक मुद्दामा सर्वोच्चले यस्तो व्याख्या गरेको छ।
हालै पूर्णपाठ सार्वजनिक गरिएको फैसलामा भनिएको छ, ‘महिला–पुरुषबिच चिनजान, सम्पर्क हुन सक्छ । सँगै सुख–दुःखमा परस्पर भावनात्मक सम्बन्ध कायम हुन सक्छ । एक–अर्कालाई परेको समयमा विभिन्न प्रकारले सहयोग, मद्दत पुर्याएको पनि हुन सक्छ । लिनु–दिनु व्यवहार गरेको हुन सक्छ । चिठीपत्र, फोन सम्पर्क भएको हुन सक्छ । सँगै घुमफिर गर्न, मनोरञ्जन गर्न गएको पनि हुन सक्छ । एक–अर्कालाई आवश्यक परेको समयमा हेरचाह गरेको पनि हुन सक्छ । ती सबै व्यवहारहरूले दुईजनाबिच सम्बन्ध र सम्पर्क रहेको तथ्य स्थापित हुन्छ । तर, ती व्यवहारहरूको आधारमा दुईजनाबिच वैवाहिक सम्बन्ध नै कायम रहेको हो भनी परिभाषित गर्न मिल्दैन ।’
चौधरीले लोकसमका पति चूडाबहादुर श्रेष्ठ आफ्नो पति रहेकाले अंश पाउनुपर्ने माग गरेकी थिइन् । जसलाई पाँच वर्षअघि सर्वोच्चले स्वीकार गरेको थियो । सर्वोच्चको संयुक्त इजलासले जिल्ला र पुनरावेदनको फैसला उल्ट्याउँदै दुवैबिच पतिपत्नीको सम्बन्ध कायम गरी चौधरीले अंश पाउने गरी फैसला गरेको थियो । चार भागको एक भाग अंश चौधरीले पाउने गरी २३ कात्तिक ०८० मा भएको उक्त फैसलालाई चुनौती दिँदै चूडाबहादुरकी श्रीमती चेतना लोकसम पुनरावलोकनको लागि अदालत पुगेकी थिइन् । जसमा न्यायाधीशहरू कुमार रेग्मी, शारंगा सुवेदी र बालकृष्ण ढकालको पूर्ण इजलासले उक्त फैसला उल्ट्याउँदै अन्तिम किनारा लगाएको हो ।
