सोम, कार्तिक १०, २०८३
13.1 C
Kathmandu

चाडपर्व नजिकियो, सुरक्षा चुनौती बढ्यो, फरार कैदीले जनतामा त्रास

काठमाडौं । गत साता जेन-जी आन्दोलन चर्किएपछि नेपालमा अभूतपूर्व सङ्कट देखियो । देशभरका २७ कारागार र नौ बाल सुधार गृहबाट हजारौँ कैदीबन्दी र बालबिज्याइँकर्ता फरार रहेका छन् । कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै करिब १३,५९१ कैदीबन्दी र १,४२२ बालबिज्याइँकर्ता गरी कुल १५,००० भन्दा बढी व्यक्ति फरार भएका थिए ।

यो सङ्ख्या देशभरका ३०,६३४ कैदीबन्दीको ४६ प्रतिशत र बाल सुधारगृहका दुईतिहाइ बन्दी हो । असोज १, को तथ्याङ्कअनुसार ८,०९६ कैदीबन्दी र ७२० बालबिज्याइँकर्ता गरी ८,८१६ जना अझै फरार छन् । यो ठूलो सङ्ख्यामा भएको जेलब्रेकले चाडपर्व नजिकिँदै गर्दा सार्वजनिक सुरक्षाप्रति चिन्ता बढाएको छ ।

दोषी ठहर भएका हजारौँ अपराधी र प्रहरी हिरासतमा रहेका अभियुक्तहरू बाहिर निस्किएकाले चोरी, डकैती र अन्य अपराधका घटना बढ्ने सम्भावना छ । भदौ २४ मा नक्खु कारागारबाट भागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित केही फर्किए पनि अधिकांश फरार रहेकाले सामाजिक सुरक्षा खतरामा रहेको छ । सुरक्षा विज्ञहरूले फरार कैदीहरूलाई तत्काल फिर्ता ल्याउनुपर्नेमा जोड दिएका छन् ।

चाडपर्वको समयमा अपराधीहरू बाहिर रहँदा अपराध बढ्ने जोखिम रहेको प्रहरी चिन्ता छ । जसले सुरक्षा चुनौती धेरै बढाएको छ । फरारहरूलाई पक्रन प्रहरीले विशेष टोली गठन गरेको छ र खुला सीमाका कारण भारततर्फ भाग्न सक्ने सम्भावनालाई रोक्न भारतीय सुरक्षा निकायसँग समन्वय गरिएको छ ।

चाडपर्व नजिकिँदै छ, जनता त्रासमा छन् । प्रहरीले नागरिकसँग मिलेर फरारहरूबारे सूचना सङ्कलन गर्न र देखिएमा नजिकको प्रहरीमा खबर गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज