महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन् । शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरीले हाम फालेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी छन् ।
कुँवर दुहुँ गाउँपालिका–४ दाराकी हुन्। हाल उनी महाकाली नगरपालिका–४ मा दिदीको घरमा बस्दै आएकी थिइन् । ती किशोरीले महाकालीमा हाम फालेको भिडिओ सार्वजनिक भएको छ। उर्लिंदो महाकालीको किनारको सानो पिल्लरमा किशोरी अडेस लागेर उभिएकी छन् ।
नजिकै धेरै मान्छेको भीडभाड छ। कोही भिडिओ बनाइरहेका छन् । एकछिनमा ती किशोरी भएनजिक एक जना सुरक्षाकर्मी पुग्छन् ।
उनको उद्धार गर्ने प्रयास गर्छन्। तर सुरक्षाकर्मीलाई देख्नासाथ ती किशोरी हत्तपत्त महाकालीमा हामफाल्छिन् ।
शनिबार धौलीगंगा बाँध खोलिएकोले महाकालीमा पानीको बहाब पनि बढेको छ। किशोरीको खोजी जारी रहेपनि अहिलेसम्म अवस्था पत्ता लागेको छैन।
