प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूबारे अमेरिकी दूतावाससँग जोडेर आएका समाचारबारे आपत्ती जनाएकी छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै उपसभामुख रानाले सन् २०२३ मार्च महिनामा यूएन सीएसडब्लू सम्मेलनमा जानेहरू कसैको पनि भिसाका लागि अनुरोध नगरेको दाबी बताएकी छन् ।
‘उक्त कार्यक्रममा मेरो लागि सहयोगी समेत भैदिने हुनाले अन्तर्वार्ताको लागि मिति लिईदिन अनुरोध गरेपछि मैले नेपालस्थित संयुक्त राज्य अमेरिकाको राजदूतावासलाई अन्तर्वार्ताको लागी मिति राखिदिन अनुरोध मात्र गरेको थिएँ,’ रानाले उल्लेख गरेकी छिन्, ‘कसैलाई भिसा दिने वा नदिने स्वः निर्णय राजदूतावासले आफ्नो नीति र प्रक्रिया बमोजिम गर्ने नै हुन्छ। मैले कसैको भिसाको लागि अनुरोध पनि गरेकी छैन। हैन।’
उपसभामुख रानाले दूतावासमा अन्तर्वार्ताका लागि विभिन्न व्यक्तिको नाम उल्लेख गर्दै लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा परेकी थिइन्।
उपसभामुख रानाले आफ्नो टोलीको सदस्य भन्दै ५ जनाको अन्तर्वार्ताको समय अगाडि सारिदिन काठमाडौँस्थित अमेरिकी दूतावाससँग ताकेता गरेको पाइएको थियो।
