काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले आफ्नो व्यक्तिगत जीवनबारे पनि निर्णय गरिदिन पार्टी नेतृत्वसँग माग गरेका छन् ।
पार्टी केन्द्रीय समितिको बैठकमा फरक प्रस्ताव पेश गर्दै आफ्नो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने उल्लेख गरेका छन् ।
बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले लिखित रुपमै धारणा राख्न खोजेका थिए । तर उनले बोल्न पाएका छैनन् ।
उनले तयार पारेको लिखित धारणामा प्रेम सम्बन्धलाई लिएर प्रश्न उठेको भन्दै व्यक्तिगत जीवनबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक नपर्ने बताएका हुन् । ‘मैले बिहे गर्ने कि नगर्ने रु कुमार नै बस्ने कि केन्द्रीय समितिले निर्णय गरिदेओस्’ मुकुलले लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग बिहे गर भन्छ भने पनि तयार छु वा आफ्नो इच्छामा गर भन्छ भने पनि ठीक छ ।’
विवाह बाहेक पनि आफ्नो जीवनको सबै कुरा पार्टीले धारणा बनाइदिन पनि स्वीकार्य हुने उनले बताएका छन् । ‘देश छाडेर जा, देशको हित हुन्छ भने पनि गइदिन्छु’ महामन्त्री ढकालले लिखित धारणामा उल्लेख गरेका छन्, ‘राजनीति छोड्, देशको हित हुन्छ भने पनि छोडिदिन्छु । देशको हितमा कुन ठाउँमा हुँदा ठीक हुन्छ, मैले के गर्दा ठीक हुन्छ, तपाईंहरु भनिदिनुस् ।’
पार्टीबाट समानुपातिक सांसद चयन गर्दा केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई रोकेर महामन्त्री ढकालले आफ्नो गर्लफ्रेन्ड पठाएको आरोप लगाएका थिए ।
