शुक्र, अशोज २, २०८३
22.1 C
Kathmandu

२०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमानको २९औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । वि.सं.२०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरेका थिए । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्व गरेका थिए ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्षसमेत गरेका थिए । विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका सिंहले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताएका थिए ।

विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे भने विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरूद्ध सक्रिय रहेका थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज