काठमाडौं । चाडपर्वको मुखमा बजारमा चिनी अभाव भएको र महँगोमा किन बाध्य भएको गुनासो उपभोक्ताले गरिरहेका बेला सरकारले सहज र पर्याप्त आपूर्ति भइरहेको दाबी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा प्रतिकिलो ११० रुपैयाँमा चिनी बिक्री–वितरण भइरहेको दाबी गरेको हो । तर, बजारमा भने १५० रुपैयाँमा पनि चिनी नपाइने गुनासो उपभोक्ताको छ ।
१० भदौमा भोटेकोशी नदीमा आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोका कारण बाटो अवरुद्ध भएको र भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको कारण देखाउँदै बजारमा चिनी अभाव गराइएको र महँगोमा बेचिरहेको समाचार सार्वजनिक भएका थिए । तर, विभागले बजारमा चिनीको कुनै अभाव नरहेको दाबी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको अध्यक्षतामा ३० भदौमा सरोकारवालाहरूसँग बसेको बैठकपछि सरकारले चिनीको सहज आपूर्ति व्यवस्था मिलाएको विभागले जनाएको छ ।
