बिहि, कार्तिक १३, २०८३
16.1 C
Kathmandu

उद्योगमन्त्री गौरीको चेतावनी–उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले उद्योगी तथा कर्मचारीतन्त्रका कारण ग्यास आपूर्ति र उद्योग क्षेत्र सुधार हुन नसकेको दाबी गरेकी छिन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा उनले उद्योगीलाई पाता नफर्काएसम्म आपूर्ति सहज नहुने भन्दै आक्रोश व्यक्त गरिन् ।

मूल्य बढाउन सरकारसँग सहमति खोज्ने, तर उपभोक्तालाई नियमित र सहज रूपमा ग्यास उपलब्ध गराउने जिम्मेवारीबाट उद्योगी पन्छिएको उनको भनाइ छ । हात जोडेर ग्यासको आपूर्ति सहज बनाइदिनुस् भन्दै उद्योगीहरूलाई आग्रह गर्दा पनि समस्या समाधान नभएको उनले सुनाइन् । ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म चाहिँ यो ग्यास सहज हुँदैन भन्ने मेरो अन्तिम विश्लेषण हो,’ उनले भनिन् ।

मन्त्री यादवले नेपालमा दुईवटाभन्दा बढी ग्यास उद्योग नचाहिने भन्दै हाल सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने बताइन् । ‘हाम्रो देशलाई ५८ वटा ग्यास उद्योग चाहिएको होइन । ठुलो–ठुलो देशमा तीनवटा भन्दा बढी छैन भने यहाँ ग्यास उद्योग किन ५८ वटा छ ?’ उनले भनिन्, ‘किनभने करोडौँ लिएर उनीहरूलाई लाइसेन्स दिएको छ । ती उद्योगीहरूले विगतमा बुझाएको करोड त उठाउनुपर्‍यो नि । अहिले उनीहरू उठाइरहेका छन् ।’ उनले ५८ उद्योगलाई मर्ज वा खारेज गर्नुपर्ने आवश्यकता रहेको पनि बताइन् ।

सम्बन्धित समाचार

ताजा न्यूज