सोम, कार्तिक ३, २०८३
19.1 C
Kathmandu

शव र मरेका पशुचौपायाबाट महामारीजन्य रोग फैलिने जोखिम

काठमाडौं । बाढीमा परेर मृत्यु भएका व्यक्ति र पशुचौपायाको शव कुहिएर प्रभावित क्षेत्रमा महामारीजन्य तथा सरुवारोग फैलिने जोखिम देखिएको छ । बाढीमा सयौँ मानिस बेपत्ता भएकामा निकै कम जीवित भेटिएका छन् भने अधिकांशको शव पनि भेटिएको छैन । त्यस्तै, हजारौँ पशुचौपाया बाढीमा परेकामा कुनै व्यवस्थापन भएको छैन । यसले महामारीजन्य रोग भयावह बन्न सक्ने भन्दै पूर्वतयारी र सावधानी अपनाउन चिकित्सकहरूले सचेत गराएका छन् ।

यत्रतत्र छरिएका शवका कारण हैजा, झाडापखाला, स्क्रब टाइफस, रोटाभाइरस, टाइफाइड, हेपाटाइटिस ‘ए’ र ‘ई’, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, छालाका संक्रमण, श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिन सक्नेमा सरुवारोग विशेषज्ञ चिकित्सकहरूको चिन्ता छ । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले तत्काल प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता नअपनाइए सार्वजनिक स्वास्थ्य संकट निम्तिन सक्ने चेतावनी दिए ।

अहिले बाढी प्रभावितहरू सामूहिक रूपमा बसेका छन् । उनीहरूको खानपिन र बसाइ एकै ठाउँमा छ । टहरा वा खुला ठाउँमा बस्दा लामखुट्टे वा अन्य भुसुनाले टोक्न सक्ने र त्यहीँबाट एक–अर्कामा रोग फैलिन सक्ने चिकित्सक पुन बताउँछन् ।

खानेपानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र सेवन गर्नुपर्ने, साबुनपानीले नियमित हात धुनुपर्ने, अस्थायी शिविरमा शौचालय र फोहोर व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने तथा ज्वरो, पखाला, बान्ता वा छालामा संक्रमण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्ने सुझाव डा. पुनको छ ।

बाढीले रसुवा र नुवाकोटका हजारौँ घर तथा संरचना तहसनहस बनाएको छ । ती घरमा बसोबास गर्ने मानिस हराएका छन् । उनीहरूले पालेका पशुचौपाया मरेका छन् । त्यहाँबाट बगाएका मान्छेका शव धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासी पूर्वसम्म फेला परेका छन् । मान्छेको शव व्यवस्थापन गर्नै जटिल भइरहेको सरकारले मरेका पशुचौपाया व्यवस्थापनतर्फ त सोचेकै छैन । मरेका पशुचौपाया गनाउने र जीवाणु फैलिने क्रम बढ्दो छ ।

मुख्य प्रभावित क्षेत्रमा रसुवा र त्रिशूली अस्पतालबाहेक अन्य स्थानीय स्वास्थ्यचौकी नामेट भएका छन् । सेना, नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयले स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज