काठमाडौं । भोटेकोशी बाढीमा परेर मृत्यु भएका व्यक्तिको शव पहिचानमा समस्या हुँदा व्यवस्थापन जटिल बनेको छ । अस्पतालमा शव व्यवस्थापन गर्न नसकिने निष्कर्षसहित सरकारले ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि गाड्न थालेको छ । देवघाटनजिक जंगल क्षेत्रमा ठाउँ व्यवस्थापन गरेर जमिनमुनि गाड्न सुरु भएको हो ।
शव पहिचानका लागि प्रहरीले पोर्टल नै बनाएर फोटोहरू सार्वजनिक गरिरहेको छ । तर, शव क्षतविक्षत अवस्थामा रहेकाले सनाखत गर्न समस्या परेको छ । पहिचान भएका २२ शव आफन्तले बुझिसकेका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए । न्यून शव मात्रै सनाखत भएकाले अब डिएनए परीक्षणबाट सनाखत गर्ने गरी सबैको डिएनए नमुना लिएर गाड्ने निर्णय भएको प्रवक्ता काफ्ले बताउँछन् । पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम जमिनमुनि व्यवस्थापन गर्नुपर्ने शवहरूको सम्बन्धमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ‘एयरटाइट ब्याग’मा राखेर गाड्न थालिएको हो । यसरी गाड्दा शव सुरक्षित रहने र पछि सनाखत भएमा निकालेर दिइने प्रवक्ता काफ्ले बताउँछन् ।
निर्धारित स्थानमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको संकेत/कोड नम्बर जमिनमुनि तथा माथि राखी शव व्यवस्थापन गरिएको स्थानको जिपिएस लोकेसन, फोटो अभिलेख, नक्सासहितको विस्तृत विवरण तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको प्रहरीले जनाएको छ ।
यसै क्रममा शनिबार मात्रै सयवटा शव व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । शव लामो समयसम्म सुरक्षित राख्ने पूर्वाधारको अभाव भएकाले विश्वव्यापी रूपमा मान्य मानवीय मापदण्डअनुसार अस्थायी रूपमा व्यवस्थापन गर्नुपरेको उनले बताए ।
