काठमाडौं । भोटेकोशीमा बाढी आएपछि रसुवाको त्रिशूली–थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा चार दिनदेखि फसिरहेकाहरूको उद्धार प्रयास जारी छ । उद्धारस्थलमै खटिएका गृहमन्त्री सुधन गुरुङले सुरुङको माथिल्लो भाग (क्राउन) सम्म पुग्न सफल भएको बताएका छन् ।
उनका अनुसार उद्धार टोलीले सुरुङको माथिल्लो भागमा सानो प्वाल बनाउन सफल भएको छ । उक्त प्वालबाट सुरुङभित्र हावा पठाउनसमेत सुरु गरिएको मन्त्री गुरुङले बताए ।
अब सोही स्थानबाट थप खन्ने काम अघि बढाइने र त्यसपछि उद्धार टोलीलाई सुरुङभित्र पठाउने तयारी भइरहेको मन्त्री गुरुङले बताए । सुरुङमा फसेकाहरूको उद्धारका लागि सबै प्रयास तीव्र पारिएको र उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ छ ।
