शुक्र, कार्तिक १४, २०८३
15.1 C
Kathmandu

पुँजीबजारलाई मर्यादित र व्यावसायिक बनाउन प्रधानमन्त्री बालेनको आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुँजी बजारलाई मर्यादित र व्यावसायिक बनाउने गरी काम गर्न सरोकारवाला निकाय र लगानीकर्तालाई आग्रह गरेका छन् । सोमबार पुँजीबजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिसँग छलफल गर्दै उनले मनोबल बढाएर काम गर्नसमेत आग्रह गरे ।

प्रधानमन्त्रीले पुँजीबजारमार्फत उद्यमशीलता विकास र रोजगारी सिर्जना सरकारको मुख्य प्राथमिकता रहेको बताए । सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजीबजारलाई विशेष प्राथमिकता दिएको प्रधानमन्त्री शाहको भनाइ छ ।

उनले यस क्षेत्रका व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै नेपालको पुँजीबजारलाई व्यावसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन् । यसबाट उद्यमशीलता फस्टाउने र रोजगारीका अवसर थपिने उल्लेख गर्दै प्रधानमन्त्री शाहले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने, तर गल्ती गर्नेविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने चेतावनीसमेत दिएका छन् ।

छलफलका क्रममा पुँजीबजारका सरोकारवाला संस्थाका प्रतिनिधिले बजारको दिगो विकासका लागि कानुनी, नीतिगत, संस्थागत र प्रणालीगत सुधारको आवश्यकता रहेको सुझाव दिए । प्रधानमन्त्रीसँगको संवादले आफूहरू अझ बढी प्रोत्साहित भएको उल्लेख गर्दै उनीहरूले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) प्रणालीमा सुधार गर्न, दोस्रो बजारमा माग र आपूर्तिको सन्तुलन मिलाई उचित मूल्य निर्धारण प्रणालीको विकास गर्न तथा दैनिक कारोबार रकमलाई ३० अर्ब रुपैयाँभन्दा बढी पुर्‍याउने वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।

यसैगरी, बैंक तथा वित्तीय संस्थामार्फत मार्जिन कारोबारसँग सम्बन्धित ब्रोकर कम्पनीहरूलाई कर्जा प्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक कदम चाल्नुपर्ने लगानीकर्ताको भनाइ थियो । बैंक तथा वित्तीय संस्थाले धितोपत्रमा लगानी गरेपछि कम्तीमा ६ महिनासम्म बिक्री गर्न नपाउने विद्यमान व्यवस्था खारेज गर्न तथा सेयर धितो कर्जाको सीमालाई प्राथमिक पुँजीसँग आबद्ध गर्नुको सट्टा कुल कर्जाको पाँच प्रतिशत कायम गर्ने व्यवस्था मिलाउन पनि लगानीकर्ताले सुझाव दिएका छन् ।

अर्थ मन्त्रालयले व्यक्तिगत कारोबारमा हुने नोक्सानीमा समेत कर समायोजनको व्यवस्था गरिदिनुपर्ने, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता ठुला संस्थाहरूलाई दोस्रो बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्ने, नेपाल स्टक एक्सचेन्जको रणनीतिक साझेदारसहित पुनर्संरचना गरिनुपर्ने र गैरआवासीय नेपालीलाई पनि नेपालको पुँजीबजारमा लगानी गर्ने मार्ग प्रशस्त गरिनुपर्ने माग पनि प्रधानमन्त्रीसमक्ष राखिएको थियो ।

उक्त छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रतिनिधि सन्दीप जलान, नेपाल लाइफ इन्स्योरेन्सका प्रतिनिधि नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, पुँजीबजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल सहभागी थिए ।

सम्बन्धित समाचार

ताजा न्यूज