काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व उर्जामन्त्री कुलमान घिसिङले वर्तमान सरकारले जनतामा विश्वास जगाउन नसकेको भन्दै निराशा बढ्दै गएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा घिसिङले निराशाकै कारण केही व्यापारी र युवाहरूले आत्मदाह गर्नुपर्ने अवस्था आएको उल्लेख गरे ।
‘दुई तिहाई नजिकको बहुमतप्राप्त सरकारले जनताको आशा र भरोसालाई निराशामा बदलिदिए नेपाल फेरि द्वन्द्वतर्फ जान सक्ने सम्भावना ठूलो छ’ घिसिङले भने, ‘हाम्रो चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने हो । तर, अहिलेसम्मको कार्यशैली हेर्दा पाँच वर्ष टिक्ने संकेत देखिँदैन ।’
अध्यक्ष घिसिङले आफ्नो पार्टी कुनै स्टन्ट वा क्षणिक लोकप्रियताका लागि नचल्ने स्पष्ट पारे । उनले भने ‘देशमा आउने जुनसुकै चुनौतीको सामना गर्न उज्यालो नेपाल पार्टी तयार छ ।’ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गरेर ठूलो गल्ती भएको स्वीकार गर्दै अब कुनै पनि पार्टीमा विलय भएर उज्यालो नेपालको अस्तित्व मेटाउने काम नहुने उनले स्पष्ट पारे ।
