बिहि, कार्तिक ६, २०८३
16.1 C
Kathmandu

बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं । जावलाखेलमा रहेकाे सदर चिडियाखानामा बर्ड फ्लुका संक्रमण देखिएकाे विषय गुपचुप राखेको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साह छानबिनमा तानिएका छन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) को केन्द्रीय कार्यालयलाई समयमै जानकारी नगराई सूचना लुकाएको आरोपमा उनलाई जिम्मेवारीबाट तत्कालका लागि हटाइएको छ । कोषको अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा कोषले साहलाई शुक्रबार चिडियाखाना प्रमुखको पदबाट हटाएर केन्द्रीय कार्यालयमा तानेको हो।

वन्यजन्तुको सुरक्षा र सूचना प्रवाहजस्तो संवेदनशील विषयमा गैरजिम्मेवार देखिएको भन्दै उनीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रीकाे सचिवालयले जनाएको छ । साहलाई जिम्मेवारीबाट हटाइएकाले चिडियाखानाको प्रशासनिक कार्य व्यवस्थापनका लागि वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।

३ सदस्यीय छानबिन समिति गठन चिडियाखानामा फैलिएको बर्ड फ्लुको वास्तविक कारण पत्ता लगाउन र रिपोर्टिङमा भएको लापरबाहीबारे अनुसन्धान गर्न कोषले एक उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा गठित ३ सदस्यीय समितिका सदस्यमा प्रशासन प्रमुख हरिविक्रम सिंह प्रशासन र संरक्षण क्षेत्र विभाग प्रमुख डा. मधु क्षेत्री रहेका छन्। समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी एक हप्ताभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

जनावरमा समेत फैलियो संक्रमण चिडियाखानामा करिब १० दिन अघिदेखि नै पन्छी र जनावरहरू मर्न थालेका थिए। चराचुरुंगीहरू मर्ने क्रम नरोकिएपछि पशु सेवा विभागमा पठाइएको नमुना परीक्षणबाट बर्ड फ्लु पुष्टि भएको थियो।

परीक्षणका क्रममा चराचुरुंगीतर्फ बकुल्ला, लाटोकोसेरो र गिद्धमा संक्रमण देखिएको छ भने गम्भीर कुरा, जनावरतर्फ समेत निरबिरालो र चरीबाघमा बर्ड फ्लु फेला परेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज