काठमाडौं । संसद्को बर्खे अधिवेशनको सुरुवातमै विपक्षी दलहरू सरकारको कार्यशैलीविरुद्ध संयुक्त प्रतिवाद गर्ने तयारी गरेका छन् ।
बर्खे अधिवेशनको पहिलो दिन नै संवैधानिक परिषद्लगायत सरकारले ल्याएका अध्यादेश, सुकुमवासीको व्यवस्थापन, संसद् नियमावली परिवर्तनलगायत विषयलाई लिएर सरकारको प्रतिवाद गर्ने उनीहरूको निष्कर्षमा छ ।
संयुक्त प्रतिवादका विषयमा कांग्रेस, एमाले र नेकपाका नेताहरू निरन्तर छलफलमा छन् । उनीहरूले अन्य दलका नेतासँग पनि संवाद र छलफल गर्दै आएका छन् ।
नीति तथा कार्यक्रम र बजेट तयारीबारे विपक्षीहरूसँग छलफल र सुझाव लिने अभ्यास रहे पनि सरकारले ती काम नगरेकोमा पनि विपक्षीहरू रुष्ट छन् ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको कार्यशैलीको प्रतिवादबारे विपक्षीहरूसँग एकसरो छलफल भइसकेको र अझै छलफल जारी रहेको बताए ।
