शुक्र, कार्तिक ७, २०८३
15.1 C
Kathmandu

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले सार्वजनिक गर्दै, के के छन् प्राथमिकतामा ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम सोमबार संसदा पेस गर्दै छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सोमबार अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी नीति वाचन गर्नेछन् । राष्ट्रपतिको सम्बोधन र नीति तथा कार्यक्रमअघि दिउँसो २ बजे दुवै सदनको छट्टाछुट्टै बैठक बोलाइएको छ ।

सोमबारदेखि नै संघीय संसद्को बजेट अधिवेशन पनि सुरु हुँदै छ । बजेट अधिवेशनमा राष्ट्रपतिको सम्बोधनमा सरकारको नीति तथा कार्यक्रम उल्लेख गरेर दुवै सदनको संयुक्त बैठकमा वाचन गराइन्छ ।

राष्ट्रपतिले वाचन गरिसकेपछि नीति तथा कार्यक्रम प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा टेबुल गर्ने व्यवस्था छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रास्वपाको वाचापत्रअनुसार नै नीति तथा कार्यक्रम निर्माण भएको बताए । सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसनलाई प्राथमिकतामा राखिएको बताइएको छ ।

संसद् सचिवालयले जारी गरेको प्रतिनिधिसभाको वैशाख महिनाको क्यालेन्डरमा २८ वैशाखमा नीति तथा कार्यक्रम टेबुल गर्ने, ३० गते छलफल गरेर पारित गर्ने कार्यसूची छ ।

बजेट अधिवेशनको पहिलो बैठकमा सरकारले हालै ल्याएका आठवटै अध्यादेश पेस हुने भएका छन् । त्यस्तै, पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आह्वानसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस गरिनेछ । त्यस्तै, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ भने बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि पेस हुनेछ ।

सम्बन्धित समाचार

ताजा न्यूज