काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पाटी फुट्ने कुनै सम्भावना नरहेको भन्दै सांसदहरूलाई गुटबन्दी नगर्न आग्रह गरेका छन्। आफूहरू राजनीतिक रूपमा हुर्किसकेको प्रस्ट्याउँदै लामिछानेले रास्वपा फुट्ला भनेर मुख नमिठ्याउन आग्रह गरे।
‘मिडियाका साथीहरूलाई पनि रहर लाग्छ नि, हेडलाइन दिँदा फुट्छन् कि भनेर बडो मुख मिठ्याउनुहुन्छ,’ उनले भने, ‘आई एम सरी, बास्ना त चल्ला, खाना आउँदैन। सर्भिस हुने वाला छैन। वी आर पोलिटिकल्ली मच्योर्ड इनफ। राजनीतिक रूपमा हामी हुर्किसकेका छौँ।’
७० वर्ष अघि देशमा मिल्नुपर्ने मानिसहरू नमिल्दा देश ७० वर्षपछाडि परेको बताउँदै उनले सबैको गन्तव्य एउटै हुनुपर्नेमा जोड दिए।
‘हामी नेतृत्वको रूपमा तपाईंहरूबाट इतिहास बदल्ने कदमको अपेक्षा गरिरहेका छौँ, तपाईंहरू एउटा अवसर पाइएन, म यताको र उताको भनेर अलमलिरहनुभएको छ भने युटर्न लिनुस्,’ उनले भने।
