काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको माग सम्बोधन गर्ने गरी नयाँ सरकारले भ्रष्टाचारको अन्त्य, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी काम गर्ने विश्वास व्यक्त गरेकी छिन् । देशले निर्वाचित सरकार पाउन लागेको पूर्वसन्ध्यामा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले त्यसका लागि आफू नेतृत्वको सरकारले केही आधारशिला तयार गरेको बताएकी छिन् ।
‘युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेन–जी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएकी छु । यसका लागि सरकारको पूर्ण सफलताको कामना पनि गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘६ महिने अवधि रहेको चुनावी सरकारले जेन–जी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न सक्ने अवस्था थिएन । तर, हामीले केही आधारशिला अवश्य तयार गरेका छौँ ।’
अन्तरिम सरकारको कार्यभार पूरा भएको र निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको हुँदा नयाँ सरकारलाई स्वागत गर्न आफू आतुर रहेको प्रधानमन्त्री कार्कीले बताइन् । ‘आज पूर्ण आत्मविश्वासका साथ यो देशको उज्यालो भविष्य देखिरहेकी छु– जहाँ हाम्रो एकता, इमानदारी र प्रत्येक नागरिकको परिश्रमले नयाँ इतिहास लेख्नेछ,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा स्पष्ट जनादेश आएको उल्लेख गरेकी छिन् । ‘यो निर्वाचनमा जेन–जी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा नागरिकले स्पष्ट जनादेश दिनुभएको छ । यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत साबित गरिदिएको छ,’ उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले नयाँ सरकारले जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा आवश्यक कदम चाल्ने विश्वाससमेत व्यक्त गरेकी छिन् । ‘आन्दोलनका क्रममा भएको बल प्रयोग, तोडफोड, आगजनी, लुटपाटलगायतका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भइसकेको छ,’ उनले भनेकी छिन्, ‘आगामी सरकारले प्रतिवेदनको पूर्ण अध्ययन गरी सिफारिस र सुझावका सन्दर्भमा आवश्यक कदम चाल्ने नै छ ।’
जेनजी आन्दोलनबाट प्रभावित उद्योग, व्यापार र प्रतिष्ठानलाई राहत, कर छुट, सहुलियत तथा सुविधा प्रदान गरी आर्थिक गतिविधि सहज रूपमा सञ्चालन गर्न र उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न एकीकृत व्यावसायिक पुनरुत्थान योजना कार्यान्वयनमा ल्याइएको पनि प्रधानमन्त्री कार्कीले स्मरण गराएकी छिन् । त्यस्तै, जेन–जी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनर्निर्माण प्राथमिकताका साथ अगाडि बढाइएको उनले बताएकी छिन् । ‘यो कठिन घडीमा हामीले निकै सानो र छरितो टिम बनाएर रातदिन खटेर, आलोचना र प्रहार सहेर, पीडा खपेर, देशकै निम्ति भनेर काम गरेका छौँ । कुनै सुविधाको लोभ नगरी मितव्ययी ढंगले हामी चलेका छौँ । यस क्रममा सबै काम राम्रो र त्रुटिरहित ढंगले गर्यौँ भन्ने पनि दाबी छैन,’ उनले भनिन्, ‘तर, यहाँहरूसामु के निवेदन गर्दछु भने हामीले गलत नियत राखेर कुनै काम गरेका छैनौँ । पारदर्शिता, निष्ठा र जनभावनालाई केन्द्रमा राखेर काम गर्ने जमर्को गरेका छौँ ।’
