काठमाडौं । विशेष महाधिवेशनलगत्तै सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुषुप्त कांग्रेसको आन्तरिक विवाद निर्वाचन परिणामलगत्तै फेरि सतहमा आएको छ । निर्वाचन समीक्षाका लागि विशेष महाधिवेशनबाट चयन केन्द्रीय समिति बैठक जारी रहेका वेला पुरानो संस्थापन पक्षले पुरानै केन्द्रीय समिति बैठक राख्ने गृहकार्य गरेको छ । वैधानिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुई खेमाका अलग–अलग बैठकले कांग्रेस विवाद फेरि नयाँ अध्यायमा प्रवेश गर्ने निश्चित छ ।
२१ फागुनको निर्वाचनमा कांग्रेसले अनपेक्षित पराजय व्यहोरेपछि दबाबमा आएका सभापति गगन थापाले नैतिक दायित्व लिँदै राजीनामा दिएसँगै पार्टीको इतर पक्ष सक्रिय भएको छ । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमा थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव छ । यही घटनाक्रमबिच विशेष महाधिवेशन तथा चुनावी समीक्षाका लागि पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यसै साता निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाउन लागेका हुन् ।
विशेष महाधिवेशन तथा चुनावी समीक्षाका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यसै साता केन्द्रीय सदस्यहरूको बैठक बोलाउने तयारी गरिरहेका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व र अघिल्लो महाधिवेशनबाट निर्वाचित नेतृत्वबिच सहमतिका आधारमा आगामी नियमित महाधिवेशनमा जान इतर पक्षले दबाब दिएको छ । संस्थापन पक्षले भने पार्टीमा विवाद उत्पन्न गराई महाधिवेशनमा सहभागी हुन सबै पक्षलाई आग्रह गरेको छ ।
इतर पक्षले सभापति थापाको राजीनामा र त्यसलाई अस्वीकृत गर्ने प्रस्तावलाई ‘नाटक र चटके’ कार्य भन्दै आलोचना गरेको छ । ‘सभापति थापाले राजीनामा सार्वजनिक गर्नुभएको छैन । उहाँ आफैँले गर्नुभएको हो कि होइन भन्ने कुरा पनि स्पष्ट छैन । यसमा उपयुक्त संवाद आवश्यक छ,’ कांग्रेस नेता मिन विश्वकर्माले भने, ‘यसमा विश्वप्रकाश शर्माजीले गिजोल्ने कुरा गर्नुभयो । गगनजीको कम्प्याक्ट पर्सनालिटीलाई गिजोल्ने काम भयो, यसो गर्नु हुँदैनथ्यो ।’
