शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

बजारमा ग्यासको कालोबजारी, अभाव देखाउँदै मूल्य बढाउँदै, ग्यास लिनेको भिड

काठमाडौं । देशभर ग्यासको कृत्रिम अभाव हुन थालेको छ । पछिल्लो समय मध्यपूर्वको तनावले गर्दा ग्यास अभाव हुन थालेपछि स्थानीयले ग्यास ‘स्टक’ गर्न थालेका छन् भने व्यापारीले कृत्रिम अभाव देखाउँदै मौका छोपेर मूल्य बढाउन थालेका छन् ।

बजारमा कालोबजारी हुँदासमेत सरकार भने मौन रहेको छ । ग्यासको भाउ बढ्ने भन्दै ग्यास लुकाउने काम भएको उपभोक्ताहरूको गुनासो छ । जसको प्रत्यक्ष असर आम नागरिकको भान्सामा परेको छ ।

इरान र इजरायल–अमेरिका युद्धमा होमिएपछि इन्धनको अभाव हुन सक्ने भन्दै सरकारले आपूर्ति सहज बनाउन आधा भरिएको सिलिन्डर बिक्री गर्न सुरु गरिसकेको छ । जसका कारण ग्यास लिनेको भिड नै लाग्न थालेको छ ।

निगम सञ्चालक समितिको निर्णयअनुसार आधा सिलिन्डर ग्यासको मूल्य पनि आधा नै अर्थात् ९५५ रुपैयाँ तोकिएको छ । यसअघि ०७२ मा भारतले नेपाललाई नाकाबन्दी गरेका वेला पनि आपूर्ति घट्दा आधा भरिएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइएको थियो । पूरा भरिएको सिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ । अब आउने ग्यासमा ७.१ किलो ग्यास हुन्छ ।

हाल दैनिक खपत १३२ सिलिन्डर भए पनि भारतले विश्व बजारबाट आपूर्ति कम भएको कारण देखाउँदै नेपाल निर्यात गर्ने परिमाण पनि घटाउन थालेको छ । मुलुकभर दैनिक एक लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ । आपूर्ति सहजताका लागि आधा भरिएको ग्यास वितरण गर्दा दैनिक दुई लाख सिलिन्डर वितरण गर्न सकिने निगमको दाबी छ ।

 

 

सम्बन्धित समाचार

ताजा न्यूज