काठमाडौं । मधेशको अधिकार र पहिचानको एजेन्डा बोकेर तीन दशकभन्दा बढी समयदेखि राष्ट्रिय राजनीतिमा प्रभाव जमाउँदै आएका मधेशवादी दलहरू यसपटक आफ्नै उदयस्थलमै लगभग बढारिएका छन् ।
उपेन्द्र यादव, सिके राउत, शरत्सिंह भण्डारी, राजेन्द्र महतो र प्रभु साहजस्ता प्रमुख नेताहरू आफ्नै निर्वाचन क्षेत्रमा पराजित मात्र भएनन्, उनीहरू नेतृत्वका दलले प्रतिनिधिसभामा एक सिटसमेत जित्न सकेनन् । समानुपातिकतर्फ पनि आवश्यक थ्रेसहोल्ड पार गर्न नसक्दा उनीहरूको प्रतिनिधिसभामा उपस्थिति शून्यमा झरेको छ । लामो समयदेखि मधेशको प्रतिनिधित्व गर्दै आएका मधेशकेन्द्रित दलहरू यसपटक प्रतिनिधिसभाबाट बाहिरिए ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव यसपटक सप्तरी ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरीसँग पराजित भए । चौधरीले ३२ हजार ८७५ मत प्राप्त गर्दा अध्यक्ष यादव १५ हजार २३९ मतमा सीमित भए ।
०७९ को निर्वाचनमा सप्तरी २ बाट विजयी भएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि यसपटक हार व्यहोर्न बाध्य भए । रास्वपाका उम्मेदवार रामजी यादव २८ हजार ४०४ मतसहित विजयी हुँदा राउत नौ हजार ८८० मतसहित तेस्रो स्थानमा पुगे । १९ पटक मन्त्री बनेका जसपा नेपालका वरिष्ठ नेता शरत्सिंह भण्डारीले पनि यसपटक आफ्नो राजनीतिक प्रभाव जोगाउन सकेनन् । जसपाबाट उम्मेदवार बनेका भण्डारीलाई रास्वपाका दीपककुमार साहले पराजित गरे । साहले ३२ हजार ७२२ मत प्राप्त गर्दा भण्डारी १० हजार १९८ मतसहित दोस्रो स्थानमा रहे ।
सद्भावना पार्टी हुँदै पछिल्लो समय गठबन्धनमार्फत राष्ट्रिय मुक्ति पार्टी नेपालबाट सर्लाही २ मा उम्मेदवार बनेका पार्टी अध्यक्ष राजेन्द्र महतो पाँच हजार ९९२ मतसहित चौथो स्थानमा सीमित भए । उक्त क्षेत्रमा रास्वपाका रविन महतो ४२ हजार ५१२ मतसहित विजय भए । माओवादीबाट अलग भई आम जनता पार्टी गठन गरेका प्रभु साह पनि रौतहट ३ मा तेस्रो स्थानमा रहे । साहले नौ ८९० मत प्राप्त गर्दा विजयी रास्वपाका रवीन्द्र पटिल २७ हजार ३१८ मत पाए ।
समानुपातिक मतगणनामा जनता समाजवादी पार्टी एक लाख ७३ हजार ८५ मतसहित सातौँ स्थानमा छ भने जनमत पार्टी ७७ हजार ९७४ मतसहित नवौँ स्थानमा छ । राष्ट्रिय मुक्ति पार्टीले ७ हजार २०८ र आम जनता पार्टीले १९ हजार ८३२ मत प्राप्त गरेका छन् । नेपाल सद्भावना पार्टीले दुई हजार १८ मत पायो ।
मधेशका आठ जिल्लाका ३२ सिटमा रास्वपाले ३० तथा कांग्रेस र नेकपाले एक–एक सिट जितेका छन् । ०७९ मधेश प्रदेशमा ७२ हजार ९३५ मत मात्र प्राप्त गरेको रास्वपा यसपटक १३ लाख ४६८ मत प्राप्त गर्दै प्रदेशमा पनि पहिलो दल बनेको छ ।
