काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराएका छन् ।
उनीहरूबीच धेरै ठूलो मतान्तर रह्यो। बालेनले ६८ हजार ३ सय ४८ मत पाउँदा ओलीले १८ हजार ७ सय ३४ मत ल्याएका छन्।
एमाले अध्यक्ष ओली झापामा दोस्रो पटक पराजित भए। २०६४ को पहिलो सविधानसभा चुनावमा तत्कालीन नेकपा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका ओली यसपटक रास्वपाका बालेनसँग पराजित भएका हुन्।
ओली र उनको दलले झापा-५ मा अनुभव गरिरहेको दबाबकै परिणामस्वरूप यसअघि कहिल्यै घरदैलो नगरेका ओली यो पटक टोलटोल पुगेर मतदाताका गुनासो सुनेका थिए। तर, उनको भगिरथ प्रयास यसपटक कामयाव हुन सकेन।
यसअघिका निर्वाचनमा देशभरका सभाहरूमा सम्बोधन गर्न पुग्ने ओली यसपटक आफ्नो क्षेत्रमै बढी केन्द्रित रहे। पहिले मतदातासँग दोहोरो कुरै नगर्ने उनी यसपटक आफ्नो क्षेत्रका मतदाताको गुनासो ध्यानसँग सुनिरहेका भेटिन्थे।
