काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा हुन लागेको निर्वाचन आफू र आफ्ना सन्तानको भविष्यसँग जोडिएको भन्दै आममतदातालाई एक दिन अन्य काम छाडेर भए पनि मतदान केन्द्र पुग्न अपिल गरेकी छिन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै कार्कीले देशलाई शान्तिपूर्ण निकासतर्फ डोहोर्याउनु र संविधानको बाटोमा फर्काउनु पहिलो कर्तव्य भएकाले चुनावको उद्देश्य कसैलाई जिताएर पठाउने मात्रै नरहेको बताएकी हुन् ।
‘भोट हाल्नु भनेको केवल चुनाव चिह्नमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन, यो त तपाईंले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो । तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु,’ कार्कीले भनिन् ।
जेन–जी आन्दोलनपछिको जटिल, संवेदनशील र चुनौतीपूर्ण संक्रमण पार गरेर निर्वाचनसम्म देशलाई ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उनको विश्लेषण छ । सबै नागरिकको संयम र सहकार्यले यस्तो परिणाम ल्याएको पनि उनको भनाइ छ । अब केही दिनमै देशको बागडोर जननिर्वाचित प्रतिनिधिहरूको हातमा सुम्पने भन्दै प्रधानमन्त्रीले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन पनि अपिल गरेकी छिन् । ‘इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु,’ उनले भनेकी छिन्, ‘मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ । अब केही दिनमा यो देशको बागडोर तपाईंहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ ।’
शान्ति र अमनचयन कायम राख्न पनि उनले सबै पक्षसँग अनुरोध गरेकी छिन् । ‘निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु । शान्ति नै नेपालको असली पहिचान हो । चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबिच मनमुटाव र वैमनस्य हुनुहुँदैन,’ सम्बोधनमा उनले थपिन्, ‘म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु । तपाईंहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो ।’
प्रधानमन्त्रीले मौन अवधिको पूर्ण पालना गर्न पनि आग्रह गरेकी छिन् । ‘तपाईंहरूको निष्पक्षता र मिहिनेतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ,’ उनले भनिन्, ‘निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिकाबमोजिम सबै तयारी पूरा गरेको छ । निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्णप्रतिबद्ध छ । प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्याएका छन् । नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत–साधन परिचालन गरेका छन् । सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।’
मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेको भन्दै कार्कीले निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई धन्यवाद दिएकी छिन् । संयुक्त राष्ट्रसंघीय निकायहरूबाट प्राप्त सहयोगप्रति उनले आभार व्यक्त गरेकी छिन् । निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि उनले बताएकी छिन् ।
‘सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि तपाईंहरूलाई जानकारी गराउँछु,’ उनले भनेकी छिन्, ‘त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्वको पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सबै देशवासीलाई विनम्र आग्रह गर्दछु ।’
मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको सन्दर्भमा कार्कीले त्यसलाई सरकारले सूक्ष्म रूपमा नियालिरहेको बताएकी छिन् । नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा सरकार कटिबद्ध रहेको उनको भनाइ छ । ‘मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ । इरान र वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ । विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ । त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठुलो चासोको विषय हो । त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ । हामी हरदम तपाईंहरूको साथमा छौँ । नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।
