आइत, कार्तिक ९, २०८३
15.1 C
Kathmandu

कांग्रेसमा स्थानीय तह तथा सांसदको उम्मेदवार हुन ‘प्राइमरी इलेक्सन’ जित्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले कुनै पनि तहको चुनावका लागि उम्मेदवार हुन पार्टीभित्रको ‘प्राइमरी इलेक्सन’ जितेर आउनुपर्ने विधि पास गरेको छ।

पार्टी विधानको अंग बनाउने गरी विशेष महाधिवेशनको बन्द सत्रले मंगलबार विधान संशोधन प्रस्ताव पारित गरेको हो।

‘नेपाली कांग्रेसको उम्मेदवार छनोट सम्बन्धित तह र क्षेत्रका क्रियाशील सदस्यको प्रत्यक्ष मतदानबाट बढी मत प्राप्त गर्ने एक महिला सहित तीन जना छनोट गरी तीमध्ये एक जनालाई चयन गर्ने व्यवस्था गरिनेछ,’ बन्द सत्रले पास गरेको विधान संशोधन प्रस्तावमा उल्लेख छ।

विधान महाधिवेशनले भने स्थानीय तहका लागि सम्बन्धित तहका क्रियाशील सदस्यको मतदानबाट चुनिएका तीन जनाको नाम निर्वाचन समितिमा पठाइने व्यवस्था पास गरेको हो।

उक्त व्यवस्थाले तीन जनामध्ये एक महिला अनिवार्य हुने व्यवस्था पनि विशेष महाधिवेशनले पास गरेको छ।

क्रियाशील सदस्यले सबभन्दा बढी मत महिलाहरूलाई दिए भने तीनै जनाको नाम निर्वाचन समितिमा पठाउनुपर्ने छ।

तर तीन जना पुरूषकै मत बढी आयो भने बढी मत ल्याउने दुई जना र महिलाबाट बढी मत ल्याउनेको नाम निर्वाचन समितिमा पठाइने छ। समितिले तीनमध्ये एक जनालाई उम्मेदवार चयन गर्ने छ।

अहिले स्थानीय तह तथा संसदीय निर्वाचनका लागि सम्बन्धित तह वा क्षेत्रको समितिले उम्मेदवारहरू सिफारिस गरी पठाउने व्यवस्था थियो।

सम्बन्धित समाचार

ताजा न्यूज