काठमाडौं । सहमतिका लागि पटक पटक भएका पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ ।
विशेष महाधिवेशन पक्षधरले राखेको नेतृत्व परिवर्तनको अडानमा सभापति शेरबहादुर देउवा तयार नभएपछि आपसी संवाद भाँडिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने गृहकार्यमा जुटिसकेका छन् । संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरू सहमति जुटाउन तीन दिनदेखि नै निरन्तर संवादमा थिए ।
विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिबाट स्वामित्व लिन र हलबाट पारित भएको नीति तथा पार्टी सुधारका प्रस्तावलाई कार्यान्वयनमा लैजान मंगलबार संस्थापन पक्ष तयार देखिएको थियो ।
नेतृत्व परिवर्तनका विषयमा समेत सहमति खोज्ने पहलका लागि विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका पछि धकेलिएको थियो । संस्थापन पक्षले मंगलबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक पनि बुधबार बिहान ८ बजेका लागि सारियो ।
सभापतिलाई ‘सेरेमोनियल’ भूमिकामा राखेर कार्यवाहक सभापति, महामन्त्रीद्वय र १४औं महाधिवेशनका मुख्य प्रतिस्पर्धी नेतासहितको ‘हाइकमान्ड’मार्फत पार्टी सञ्चालन गर्ने विकल्प अघि सारिएको थियो ।
संस्थापन पक्षका एक नेताका अनुसार विशेष महाधिवेशन पक्षधरले आफूलाई अपमान गर्ने किसिमले प्रस्ताव ल्याएको भन्दै देउवाले असन्तुष्टि जनाएका छन् ।
