काठमाडौं । १८ सिटका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा दुई ठुला कम्युनिस्ट दलका शीर्ष नेताले सम्भावित गठबन्धनकेन्द्रित छलफल गरेका छन् । आइतबार एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबिच तत्काल राष्ट्रिय सभा र फागुनमा प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न सकिने–नसकिने विषयमा छलफल भएको हो । ११ माघका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि २३ पुस (बुधबार) मा उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।
ललितपुरको च्यासलनजिक एक व्यवसायीको निजी निवासमा उनीहरूबिच आधा घण्टा एक्लाएक्लै छलफल भएको छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि दुई नेताबिच भएको सम्भवत: यो नै पहिलो अलग्गै प्रत्यक्ष भेटवार्ता भएको हो । दिउँसो ओलीसँग छलफल गरेका प्रचण्ड आइतबार साँझ दिल्ली उठेका छन् । प्रचण्डले दिल्लीमा प्रवासी नेपालीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यद्यपि, यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको छलफलमा उनीहरू आमने–सामने भएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ र पुराना दलको नाममा नयाँ भाष्य खडा गरेर चुनावी मोर्चाबाट चुनौती दिने गरी तयारी गरिरहेका वेला कांग्रेस, एमाले र नेकपाबिच सहकार्यका विकल्पमा पनि छलफल भइरहेका छन् । कांग्रेस, एमाले र नेकपा मिल्ने सम्भावनाको खोजीकै सिलसिलामा ओली–प्रचण्ड संवाद भएको ठुला पार्टीभित्र बुझाइ छ ।
ओली–प्रचण्ड भेटवार्ताअघि त्यही घरमा एमाले महासचिव शंकर पोखरेल र नेकपाका नेता वर्षमान पुनबिच पनि गत बिहीबार एक्लाएक्लै लामो वार्ता भएको थियो । त्यसअघि एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई महाराजगन्जस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए । कांग्रेस–एमाले, एमाले–नेकपा र कांग्रेस–नेकपाका दोस्रो तहका नेताहरू नजिकिएको राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनलाई लिएर संवादमै छन् । पछिल्ला दिनमा कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विग्रहको खतरा बढेपछि भने एमाले–नेकपाबिचको संवाद बढी सघन बनेको छ ।
प्रचण्डको सचिवालयले आसन्न राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, चुनावी वातावरण निर्माण, सम्भावित सहकार्य तथा सरकारले चुनावको अनुकूल वातावरण बनाउन नसकेकोलगायतका विषयमा दुई अध्यक्षबिच समीक्षात्मक छलफल भएको जनाएकोे छ ।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि २३ पुसमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका राखेको छ । त्यस्तै, २४ पुसमा दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २७ पुसमा दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरी आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
राष्ट्रिय सभामा २१ फागुनमा १९ सांसदहरूको पदावधि सकिँदै छ । जसअनुसार एमालेका आठ, तत्कालीन माओवादी केन्द्रका सात, तत्कालीन एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टी नेपालका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र एक मनोनीत छन् । यीमध्ये १८ जना निर्वाचित हुने र एकजना राष्ट्रपतिबाट मनोनयन हुनेछन् ।
